९ इन्चको चक्कु, हरियो कार र सीसीटीभी फुटेज : ‘नेपाली ब्रो’ले यसरी गरेका थिए श्रीमतीको हत्या

९ इन्चको चक्कु, हरियो कार र सीसीटीभी फुटेज : ‘नेपाली ब्रो’ले यसरी गरेका थिए श्रीमतीको हत्या

काठमाडौं : काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित प्रो-रेस्लर कुमार थापा मगरविरुद्ध श्रीमतीको योजनाबद्ध हत्या गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालयले असार १६ गते काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा कुमार थापा मगरसहित चार जनालाई प्रतिवादी बनाइएको छ।

अभियोग पत्रमा मुख्य प्रतिवादी कुमारलाई जन्मकैद र अन्य तीन सहयोगी प्रतिवादीहरूलाई हत्याका लागि उक्साएको र षड्यन्त्र गरेको कसूरमा सोही सरहको सजाय मागदाबी गरिएको छ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोग पत्रमा कुमारसहित उनकी प्रेमिका प्रतिक्षा आचार्य, सहोदर भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्रीमाथि मुद्दा लगाइएको छ।

अभियोग पत्रमा मुख्य अभियुक्त कुमार थापा मगरलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) विपरीतको कसूरमा सोही संहिताको दफा १७७ को उपदफा (२) बमोजिम जन्मकैद को सजाय माग गरिएको छ।

यस्तै, अन्य प्रतिवादीहरू प्रतिक्षा आचार्य, विक्रम थापा र पुजन थापा क्षेत्रीले हत्याका लागि उक्साउने, षड्यन्त्र गर्ने र योजनामा सहयोग पुर्याएकाले उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ३५ को उपदफा (१) बमोजिम दुरुत्साहनको कसूरमा सोही संहिताको दफा १७७ को उपदफा (२) र दफा ३५ को उपदफा (३) को खण्ड (क) बमोजिम मुख्य कसूरदार सरह नै जन्मकैदको सजायको मागदाबी गरिएको छ।

विवाहेत्तर सम्बन्ध र अदालतका मुद्दाहरू
अभियोग पत्रका अनुसार मृतक ईश्वरी भुजेल नेपाली सेनाको सैनिक ब्यान्ड (नारायणहिटी) मा जमदार पदमा कार्यरत थिइन्। कुमार र ईश्वरीबीच करिब २० वर्षअघि प्रेम विवाह भएको थियो र उनीहरूका दुई छोराहरू (१८ वर्ष र ४ वर्षका) छन्।

कुमार केही वर्ष वैदेशिक रोजगारीमा बसेर फर्किएपछि सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’का रूपमा भाइरल भएका थिए। सोही क्रममा उनको भेट २५ वर्षीया नर्सिङ विद्यार्थी प्रतिक्षा आचार्यसँग भयो र उनीहरूबीच प्रेम सम्बन्ध सुरू भयो।

श्रीमानको विवाहेत्तर सम्बन्धबारे थाहा पाएपछि ईश्वरी र कुमारबीच घरायसी विवाद चर्कियो। यसै क्रममा ईश्वरीले कुमारविरुद्ध प्रहरी वृत्त बालाजुमा वैवाहिक बलात्कारको मुद्दा दर्ता गराइन्।

सो मुद्दामा कुमार पक्राउ परी काठमाडौं जिल्ला अदालतको आदेशमा ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए, जुन मुद्दा हाल अदालतमा विचाराधीन छ। साथै, ईश्वरीले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा समेत दायर गरेकी थिइन्।

यी मुद्दाहरूका कारण आक्रोशित बनेका कुमारले ईश्वरीलाई मुद्दा फिर्ता लिन र अदालतमा बयान फेर्न पटक-पटक दबाब र धम्की दिँदै आएका थिए। मुद्दा फिर्ता नलिए ज्यान लिने धम्की दिएपछि ईश्वरी आफ्ना छोराहरूसहित छुट्टै बस्न थालेकी थिइन्।

योजनाबद्ध हत्याको त्यो रात
घटना विवरण अनुसार २०८३ जेठ २२ गते ईश्वरीको अदालतमा पेशी तोकिएको थियो। सोही दिन बिहान कुमार ईश्वरी कार्यरत ब्यान्डको गेटमा पुगेर कुराकानी गर्न खोजेका थिए, तर ईश्वरीले बेवास्ता गरेकी थिइन्।

आफ्नो डिभोर्स हुने र जबरजस्ती करणीको मुद्दामा सजाय हुने निश्चित देखेपछि कुमारले श्रीमतीको हत्या गर्ने अन्तिम योजना बनाए। सोही योजना अनुरूप उनले हरियो रङको किया कार (B AC 0344) मा ९ इन्च लामो धारिलो चक्कु बोकेर साँझदेखि नै ईश्वरी घर फर्किने बाटोमा कुरेर बसे।

साँझ करिब ९:२८ बजे ईश्वरी आफ्नो स्कुटर (बा.प्र. ०२-०१९ प ५३४९) मा चढेर कार्यालयको ड्युटी सकेर घरतर्फ फर्किँदै थिइन्।

तारकेश्वरको पैँयुटारस्थित सडक खण्डको उकालोमा कुमारले कार तेर्स्याएर ईश्वरीको बाटो छेके। आफ्नो ज्यान खतरामा रहेको महसुस गरी ईश्वरीले स्कुटर मोडेर भाग्न खोजिन्। तर कुमारले कारबाट ओर्लिएर उनलाई लखेटे र समातेर सडकमै ढाले।

सडकमा लछारपछार पार्दै कुमारले आफूसँग रहेको ९ इन्च लामो धारिलो चक्कुले ईश्वरीको घाँटी रेटी छाती र हातहरूमा जथाभाबी प्रहार गरे। छरछिमेकका मानिसहरूले थाहा पाएर उद्धार गर्न खोज्दा कुमार चक्कु फालेर कार चढी बालाजुतर्फ भागे।

गम्भीर घाइते ईश्वरीलाई तत्काल उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल रेफर गरियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

हत्या गरेर भागेका कुमारलाई प्रहरी टोलीले सोही रात ११ बजे बालाजु बाइपास सडक खण्डबाट पक्राउ गरेको थियो। पक्राउ पर्दा उनको शरीर खानतलासी गर्दा उनले लगाएको हाफ टी-सर्ट र पाइन्टमा रगतका टाटाहरू भेटिएका थिए।

अनुसन्धानका क्रममा प्रहरीले घटनास्थल नजिकैको खेतबारीबाट हत्यामा प्रयोग भएको ९ इन्च लामो धारिलो चक्कु, घटनास्थलमा प्रयोग गरिएको र अभियुक्त भाग्न प्रयोग गरेको हरियो रङको किया कार (B AC 0344) बरामद गरेको छ।

यसका अलावा घटनास्थल नजिकै रहेको निर्माणाधीन घरको सीसीटीभी फुटेजमा कुमारले कारबाट ओर्लिएर स्कुटरमा सवार ईश्वरीलाई लखेटेको, आक्रमण गरेको र चक्कु प्रहार गरी फरार भएको प्रष्ट दृश्य कैद भएको छ। सो सीसीटीभी फुटेज पनि प्रहरीले अदालतमा पेश गरेको छ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागको रिपोर्ट अनुसार ईश्वरीको मृत्यु घाँटी र छातीमा धारिलो हतियार प्रहार भएका कारण भएको हो। उनको दुवै हातमा आक्रमण रोक्न खोज्दा लागेका चोटहरू समेत भेटिएका छन्।

अन्य प्रतिवादीहरूले के सहयोग गरे?
अभियोग पत्रका अनुसार प्रतिक्षा आचार्य, विक्रम थापा र पुजन थापा क्षेत्रीले कुमारलाई ईश्वरीको हत्या गर्न दुरुत्साहन र सहयोग गरेका थिए।

कुमारकी प्रेमिका प्रतिक्षाले ईश्वरी जीवित रहँदासम्म आफूहरू सँगै बस्न नसक्ने भन्दै कुमारलाई ‘सम्बन्ध टुङ्ग्याउन वा श्रीमतीलाई तह लगाउन’ उक्साएकी थिइन्। उनले ‘पहिले श्रीमतीलाई मार अनि मात्र म तिम्रो घरमा भित्रिन्छु’ भनी टेलिफोनमा बोलेको कुरा मृतकका छोरा जेनिसले सुनेको बयानमा उल्लेख छ।

सहोदर भाइ विक्रम थापाले दाजु कुमारलाई ‘एउटा श्रीमती तह लगाउन सक्दैनस्, बुढीको पेटीकोट लगाएर हिँड्, तह लगाउन कति पैसा लाग्छ म खर्च बेहोर्छु’ भन्दै हत्याका लागि निरन्तर उक्साएको र ढाडस दिएको पाइएको छ।

साथी पुजन थापा क्षेत्रीले कुमार र प्रतिक्षालाई भेटघाट गराउने, उनीहरूको सम्बन्धलाई प्रश्रय दिने, कुमारलाई आफ्नो रिकन्डिसन हाउसमा आश्रय दिने र घटना हुनुअघि कुमारसँगै बसेर मदिरा सेवन गरी वातावरण तयार पारिदिएको अभियोगपत्रमा उल्लेख छ।

सरकारी वकिल कार्यालयले कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम हत्यामा प्रयोग गरिएको B AC 0344 नम्बरको किया कार जफत गर्न माग गरेको छ।

यसैगरी, मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम कसूरदारहरूबाट मृतक ईश्वरीका हकवाला (छोराहरू) लाई उचित क्षतिपूर्ति भराउन र अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत अदालतसमक्ष माग गरिएको छ।

असार १८, २०८३ बिहीबार ०९:५६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।