ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
काठमाडौं : काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकीय मर्यादाविपरीतका गतिविधिमा संलग्न भएको र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पाँच विदेशी महिला पक्राउ परेका छन्।
प्रहरी वृत्त लैनचौरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा युगान्डाका चार र इन्डोनेसियाकी एक महिला रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ठमेलको सडकमा हिँड्ने स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक रूपमा बाटो छेक्ने, अश्लील क्रियाकलापका लागि मोलमोलाई गर्ने र दुःख दिने गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सडकमा अभद्र व्यवहार गरिरहेका उनीहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा कार्यक्षेत्रमा खटिएको प्रहरी टोलीमाथि नै उल्टै दुर्व्यवहार गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका पाँचै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
असार १८, २०८३ बिहीबार ०७:४१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।