आन्दोलनको आवरणमा सशस्त्रका असईलाई एम्बुलेन्सबाट थुतेर मार्ने एमाले सांसदसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सजाय यथावत्

आन्दोलनको आवरणमा सशस्त्रका असईलाई एम्बुलेन्सबाट थुतेर मार्ने एमाले सांसदसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सजाय यथावत्

जनकपुरधाम : मधेस आन्दोलनकोक्रममा भएको सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न नरहेको भन्दै जिल्ला अदालतबाट सफाइ पाएका एमालेका पूर्व सांसद लक्ष्मी कोइरी महतोसहित दुई जनालाई पाँच वर्ष कैद सजाय सुनाइएको छ।

उच्च अदालत जनकपुरले बुधवार जिल्ला अदालतले ९ जनाबारे दिएको फैसलामा तीन जनाको जन्मकैद यथावत् राख्दै सफाइ पाएका दुई र सजाय तोकिएका तीन जनामाथिको फैसला सच्याएको हो।

लगातार ४९ पटकसम्म पेसी स्थगित भएर ५०औँ पेसीमा पुगेको मुद्दामा बुधवार फैसला आउँदा प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलअन्तर्गत तोकिएको जन्मकैदको सजायलाई यथावत् कायम गरेको छ।

उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरूविरुद्ध चिकित्सकीय प्रमाण, किटानी जाहेरी, अनुसन्धानका क्रममा भएका बयान, एम्बुलेन्स चालक सुशील मिश्र तथा अन्य प्रत्यक्षदर्शी साक्षीहरूको बयान र घटनास्थलका तस्बिरहरूलाई मुख्य प्रमाणका रूपमा लिँदै जन्मकैद सदर गरेको हो।

जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का निलम्बित प्रदेश सांसद अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको हकमा भने उच्च अदालतले सजाय घटाएको छ।

उनीहरूले मृतक विकमाथि प्रत्यक्ष रूपमा भौतिक आक्रमण गरेको वस्तुनिष्ठ प्रमाण नदेखिए पनि, मुख्य प्रतिवादीहरूको पोलयुक्त बयान र घटनाको समग्र परिस्थितिका आधारमा हत्या गराउने कार्यमा संलग्न रहेको ठहर गर्दै अदालतले ५ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसंघीय सांसद लक्ष्मी महतो कोइरी र पवन कापरको हकमा उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै ५ वर्ष कैद सजायको फैसला सुनाएको छ।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले २०८० मंसिर २८ मा अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो।

कैद सजाय पाएकाहरूका परिवारका सदस्यहरू (अभिराम शर्माका बुबा महेन्द्र शर्मा र रामशंकर मिश्रकी पत्नी संगीताकुमारी मिश्र) ले न्याय प्रशासन ऐन, २०७३ को दफा १०(४) बमोजिम आफ्ना मानिसहरू निर्दोष रहेको दाबी गर्दै २०८१ वैशाख ९ मा उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। त्यसैको सुनुवाइकोक्रममा फैसला उल्टिएको हो।

के थियो घटना?

यो मुद्दा २०७२ सालको मधेश आन्दोलनसँग जोडिएको छ। २०७२ भदौ २५ मा हेटौँडाबाट संयुक्त राष्ट्रसंघीय मिसनको परीक्षा दिएर कार्यस्थल महोत्तरी फर्कँदै गर्दा सशस्त्र प्रहरीका असई थमन विक आन्दोलनकारीको घेरामा परी घाइते भएका थिए।

जलेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समा राखेर जनकपुर ल्याइँदै गर्दा तत्कालीन अनैठामा प्रदर्शनकारीहरूले एम्बुलेन्स रोकेर उनलाई बाहिर घिसार्दै क्रूरतापूर्वक कुटपिट गरेका थिए। सोही सामूहिक आक्रमणका कारण विकको घटनास्थलमै मृत्यु भएको थियो।

असार १७, २०८३ बुधबार २२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।