१८ वर्षमुनिका ३५ हजार बढीलाई सदस्यता दिएको विषयमा रास्वपाले भन्यो : 'त्यो प्राविधिक त्रुटि मात्र हो'

१८ वर्षमुनिका ३५ हजार बढीलाई सदस्यता दिएको विषयमा रास्वपाले भन्यो : 'त्यो प्राविधिक त्रुटि मात्र हो'

काठमाडौँ : १८ वर्षभन्दा कम उमेरका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण सोधेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उक्त तथ्याङ्क प्राविधिक त्रुटि मात्र भएको दाबी गरेको छ।

रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५,२ सय ५७ जना पार्टी सदस्य रहेको तथ्याङ्क समावेश थियो। बालबालिकालाई पार्टी सदस्य बनाउनु प्रचलित कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने भन्दै आयोगले रास्वपाको केन्द्रीय कार्यालयलाई पत्राचार गरी आधिकारिक धारणा माग गरेको थियो।

आयोगको पत्र र चौतर्फी आलोचनापछि रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले बुधवार विज्ञप्ति जारी गर्दै बालबालिकालाई सदस्यता बाँड्ने वा राजनीतिक गतिविधिमा संलग्न गराउने पार्टीको कुनै नीति वा संस्थागत उद्देश्य नरहेको बताएका छन्।

तथ्याङ्कमा कसरी भयो त्रुटि ?

आचार्यका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएको उक्त तथ्याङ्क आधिकारिक रूपमा प्रमाणित सदस्यताको अभिलेख नभई डिजिटल प्रणालीमा आवेदकले आफैँ भरेको प्रारम्भिक र ‘कच्चा तथ्याङ्क’  मात्र थियो।

रास्वपाको डिजिटल प्रणाली (एप वा वेबसाइट) मार्फत जो कोहीले आवेदन दिन सक्ने खुला व्यवस्था छ। तर, आवेदन दिँदैमा सदस्यता स्वीकृत नहुने रास्वपाले जिकिर गरेको छ। विज्ञप्तिमा "सदस्यता आवेदनका क्रममा विवरण स्वयं आवेदकले प्रविष्ट गर्ने व्यवस्था रहेकाले केही आवेदनहरूमा वि.सं. र ई.सं. पात्रो प्रणालीको गलत छनोट, जन्ममिति प्रविष्टिमा टाइपोग्राफिकल त्रुटि र जन्म मितिको सट्टा हालको मिति प्रविष्ट गरिएका कारण प्रणालीले केही आवेदकको उमेर वास्तविकभन्दा कम देखाएको” दाबी गरिएको छ।

हालसम्म रास्वपाको प्रणालीमा ५ लाख २३ हजार ४६५ वटा सदस्यता आवेदन दर्ता भएकोमा नागरिकतालगायतका आधिकारिक कागजातका आधारमा ३ लाख ९० हजार १ सय १२ जनाको मात्र सदस्यता प्रमाणीकरण भएको महामन्त्री आचार्यले बताए। बाँकी आवेदनहरू प्रमाणीकरणकै चरणमा रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

असार १७, २०८३ बुधबार १९:१४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।