उकेरा प्रभाव : उडान स्थगनको १२ घण्टापछि नेपाल एयरलाइन्सले निकाल्यो नयाँ तालिका, तर समय अझै अनिश्चित
काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं-नारिता उडानमा प्राविधिक समस्या आएर उडान स्थगित गरेको १२ घण्टापछि नयाँ उडान तालिका सार्वजनिक गरेको छ।
मंगलबार राति साढे २ बजे जापानको नारिताका लागि उड्न लागेको विमानमा प्राविधिक समस्या देखिएपछि बोर्डिङ भइसकेका यात्रुलाई ओरालेर होटलमा राखिएको थियो।
विमानस्थलमा यात्रु अलपत्र पर्दा र फर्किने यात्रुले जापानमा सास्ती खेप्दा समेत निगम मौन बसेको विषयमा उकेराले समाचार प्रकाशन गरेपछि मात्रै निगमले आधिकारिक सूचना र नयाँ उडान तालिका सार्वजनिक गरेको हो।
उकेराले निगमको लापरबाही र सूचना लुकाउने प्रवृत्तिबारे समाचार सार्वजनिक गरेपछि निगमले नयाँ तालिका निकालेको हो।
नयाँ तालिका अनुसार काठमाडौं-नारिताको ३० जुनमा हुने तालिकालाई १ जुलाई र १ जुलाईमा हुने नारिता-काठमाडौं फ्लाइटलाई २ जुलाईमा सारिएको छ।
निगमले दबाबपछि नयाँ तालिका सार्वजनिक गरे पनि त्यसमा गम्भीर त्रुटि कायमै राखेको छ। सार्वजनिक गरिएको नयाँ तालिकामा उडान हुने मिति (१ र २ जुलाई) तोकिए पनि विमान कति बजे प्रस्थान (डिपार्चर) गर्ने हो भन्ने निश्चित समय भने अझै खुलाइएको छैन।
समय तालिका स्पष्ट नहुँदा होटलमा राखिएका र जापानबाट काठमाडौँ फर्किने पर्खाइमा रहेका यात्रु अझै पनि अन्योल र तनावमा छन्।
भएको के थियो ?
मंगलबार राति साढे २ बजे जापानको नारिताका लागि उड्न लागेको विमानमा प्राविधिक गडबढी देखिएपछि यात्रुलाई लामो समय विमानभित्रै कुराएर ओरालिएको थियो।
गैरआवासीय नेपाली सङ्घकी एसिया प्यासिफिक संयोजक संगीता अधिकारी सुवेदीका अनुसार यात्रुलाई जहाजभित्र चढाएपछि प्राविधिक समस्या भन्दै होल्ड गरेर पछि ओराली होटल लगिएको थियो।
काठमाडौंको उडान रोकिँदासम्म पनि निगमले जापानको नारितामा रहेका यात्रुलाई यसबारे कुनै जानकारी दिएको थिएन, जसका कारण काठमाडौं आउन विमानस्थल पुगेका नेपालीहरू अलपत्र परेका थिए।
नेपाल एयरलाइन्सका प्रवक्ता देवेन्द्र पुनले विमानमा प्राविधिक समस्या आएपछि यात्रुलाई निगमको खर्चमा होटलमा राखिएको र केही यात्रुलाई वैकल्पिक उडान (रिरुट) मार्फत गन्तव्यतर्फ पठाइएको जानकारी दिएका छन्।
नयाँ सूचना जारी गर्दै निगमले यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। थप जानकारीका लागि निगमको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न आग्रह गर्दै अत्यावश्यक सोधपुछका लागि नेपालमा +९७७ ९८५१२७३४५९ / ९८५१४२२१५६ र जापान (नारिता) का लागि ०९०९८२६८२०६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
यद्यपि, उडानको निश्चित समय बेलैमा नतोकिँदा यात्रुको सास्ती भने अझै सकिएको छैन।
असार १७, २०८३ बुधबार १४:३०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।