बुटवलका भित्तामा ‘बटौलीका कथा’ (तस्बिरहरू)
बुटवल : बुटवल बसपार्क क्षेत्रका सार्वजनिक पर्खालहरू अहिले बुटवलको इतिहास, संस्कृति र पहिचान झल्काउने खुला सङ्ग्रहालयका रूपमा रूपान्तरण भएका छन्।
कुनै समय धूलो, फोहोर र पुराना विज्ञापनका पोस्टरले ढाकिने सार्वजनिक भित्ताहरूलाई रङ र कुचीको माध्यमबाट कलात्मक भित्तेचित्रमा ढालिएको छ।
बुटवल उपमहानगरपालिकाको सहकार्य र नेपाल व्यावसायिक कलाकार सङ्घ, रूपन्देहीका २१ जना कलाकारहरूको सिर्जनशीलतामा यो अभियान अघि बढेको हो।
बसपार्क क्षेत्रका सार्वजनिक पर्खालहरूमा कोरिएका यी चित्रहरूले बुटवलको ऐतिहासिक गौरव, प्राचीन जीवनशैली र वर्तमान विकासलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
पुरानो बटौलीदेखि मणिमुकुन्द सेनसम्मको यात्रा
यी भित्तेचित्रहरूमा ऐतिहासिक पुरानो बटौली बजारको जनजीवनलाई मिहिन ढङ्गले प्रस्तुत गरिएको छ।
पहाडबाट डोकोमा घ्यू र नुन बोकेर आउने भरियाहरू, पुरानो बटौली बजारको प्रवेशद्वार र वि.सं. १९५९ तिर प्रयोग हुने जेरी (जलेबी) बनाउने भाँडोको चित्र यसमा समेटिएका छन्।

त्यस्तै, पाल्पा राज्यका प्रथम सेन राजा मणिमुकुन्द सेनको चित्रले बुटवलको ऐतिहासिक प्रशासनिक र राजनीतिक गौरवलाई स्मरण गराउँछ।
हातमा तरबार र शिरमा पगडी पहिरिएका सेन राजाको चित्रले बुटवलको ऐतिहासिक पृष्ठभूमिलाई उजागर गरेको छ।

जितगढीको वीरता र सामाजिक जीवन
सन् १८१४-१६ को नेपाल-अङ्ग्रेज युद्धको ऐतिहासिक किल्ला जितगढीको वीरता पनि यी भित्ताहरूमा सजिएको छ।
घरेलु हतियारका भरमा अत्याधुनिक अङ्ग्रेज फौजलाई पराजित गरेको जितगढीको लडाइँ र फहराइरहेको राष्ट्रिय झण्डालाई कलाकारहरूले कलात्मक रूपमा उतारेका छन्।

यसबाहेक, पुराना सामाजिक जीवनशैली, जातीय विविधता झल्किने सांस्कृतिक पहिरन, ठुलो भाँडोमा खाना पाकिरहेको र दाउराको चुलोमा खाना पकाउँदै गरेका ग्रामीण परिवेशका चित्रहरूले बुटवलको सामाजिक सद्भाव र सामूहिक श्रम संस्कृतिलाई दर्साएका छन्।
विगत र वर्तमानको फ्युजन
इतिहाससँगै सडक डिभिजनको पर्खालमा आधुनिक बुटवलको दृश्य पनि समेटिएको छ।
उपमहानगरको आधुनिक भवन, सिद्धार्थ केबलकार, पर्यटकीय स्थल हिलपार्क र ट्राफिक सचेतनाका सन्देशहरूले विगत र वर्तमानको सम्बन्धलाई सुन्दर ढङ्गले प्रस्तुत गरेका छन्।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यो अभियान बसपार्क क्षेत्रमा मात्र सीमित नहुने बताए।

उनले भने, ‘बुटवलको इतिहास सबैले चिनून् र बुझून् भनेरै हामीले यो स्थान छनोट गरेर चित्र बनाएका हौँ। अब सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, मुख्य सडक तथा प्रत्येक वडाका सार्वजनिक भित्ताहरूमा पनि यस्तै प्रकृतिका भित्तेचित्रहरू बनाउँदै लगिने योजना रहेको छ।’
यस अभियानले कलाकारको सम्मान गर्नुका साथै बुटवलको ऐतिहासिक पक्ष उजागर गर्ने अवसरसमेत प्रदान गरेको नगरप्रमुख पाण्डेयको भनाइ छ।
यस अभियानमा सहभागी चित्रकार राजु खड्का र एचबी रम्तेलले आफ्नो कलामार्फत बुटवलको इतिहास चिनाउने अवसर पाउँदा गर्व महसुस भएको बताएका छन्।

त्यस्तै, कालिका क्याम्पसमा अध्ययनरत विद्यार्थी विवेक पाण्डेले पुस्तक नपढेकाहरूका लागि पनि चित्रमार्फत इतिहास बुझ्न यो अभियान निकै प्रभावकारी भएको तर यसको दीर्घकालीन संरक्षणमा ध्यान दिनुपर्ने सुझाव दिए।


असार १७, २०८३ बुधबार १३:३७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।