श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी : गुल्मीमा जंगली जनावर धपाउनका लागि श्रीमानले आफ्नै बारीमा थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु भएको छ।

धूर्कोट गाउँपालिका–५ मन्टारीमा जंगली जनावर नियन्त्रण गर्नका लागि थापिएको करेन्ट प्रवाह गरिएको तारमा अल्झिँदा ६० वर्षीया हुमकला भण्डारीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार गए राति करिब १:३० बजेको समयमा करेन्ट लागेर हुमकला गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइए पनि चिकित्सकले राति नै मृत घोषणा गरेका थिए।

जंगली बँदेलले बालीनाली नष्ट गरेपछि मृतकका श्रीमान् भेषराज भण्डारीले घरभन्दा करिब १५० मिटर टाढा रहेको बारीमा पासो थापेका थिए। उनले नजिकैको बिजुलीको पोलबाट सिधै तार तानेर बारीमा करेन्ट प्रवाह गरेर छाडेका थिए। 

मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगिसकेको र अनुसन्धान सुरू गरिसकेको छ।

असार १७, २०८३ बुधबार १०:५५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।