होटल र रेस्टुरेन्टको खाद्य गुणस्तर अनुगमन गर्न गृहको निर्देशन

होटल र रेस्टुरेन्टको खाद्य गुणस्तर अनुगमन गर्न गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले होटल तथा रेस्टुरेन्टमा खाद्य सामग्रीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न अनुगमन र कानुनी कारबाहीको लागि देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूलाई निर्देशन दिएको छ। 

मन्त्रालयले जारी गरेको परिपत्रमा केही होटेल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर र सरसफाइ कमजोर रहेको गुनासा प्राप्त भएको उल्लेख गर्दै खानाको गुणस्तर र स्वच्छता सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न भनिएको छ। 

अनुगमनलाई प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन र नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउनेलाई कानुन बमोजिम कारबाही गर्न निर्देशन दिइएको छ। 

साथै आम नागरिकका गुनासाहरू सहजै दर्ता गर्न प्रत्येक जिल्ला प्रशासन कार्यालयमा तत्काल गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्न निर्देशन दिइएको छ। प्राप्त गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल समाधान गर्न समेत भनिएको छ।

मन्त्रालयले साना कामका लागि नागरिकले केन्द्र वा मन्त्रालय धाउनुपर्ने स्थितिको अन्त्य गर्न र स्थानीय स्तरका समस्या प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा समाधान गर्न भनेको छ। 

असार १६, २०८३ मंगलबार २२:०१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।