विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश

काठमाडौं : सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइका गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश गरेको छ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले पौडेलकी पत्नी दोमाया पौडेलले गैरकानुनीरूपमा थुनामा राखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै मंगलबार मिसिल झिकाउन आदेश गरेको हो।

रिट निवेदनमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय, सुर्खेतलाई विपक्षी बनाउँदै गैरकानुनी थुनामुक्त गर्न माग गरिएको थियो।

अदालतले मुद्दाको अभियोग पत्रसहितको सक्कल फाइल इजलास समक्ष देखाइ फिर्ता लैजाने गरी सम्बन्धित अदालतबाट झिकाइ मिति यही असार १८ गते पेशी तोक्न भनेको छ।

आदेशमा रिट निवेदनसँग सम्बन्धित तथ्य र प्रमाणको समग्र अध्ययनका लागि विशेष अदालतबाट दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल, भट्टकै बैङ्किङ कसुर मुद्दा पाटनबाट झिकाउन भनिएको छ।

आशिष श्रेष्ठसमेत रहेको बिमासम्बन्धी कसुर मुद्दाको काठमाडौं जिल्ला अदालतबाट सक्कल मिसिल झिकाउने, सुलभ अग्रवालसमेत भएको धितो पत्रसम्बन्धी कसुरको मुद्दाको सक्कल मिसिल काठमाडौं जिल्ला अदालतबाट झिकाउन भनिएको छ।

असार १६, २०८३ मंगलबार २०:२२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।