इसेवाको नाममा अनलाइन जुवामा फसाउन नेपाली नै सक्रिय, कम्बोडियाको नम्बरबाट कल गर्दै भन्छन् “खेलौँ, लाखौँ कमाइन्छ”

इसेवाको नाममा अनलाइन जुवामा फसाउन नेपाली नै सक्रिय, कम्बोडियाको नम्बरबाट कल गर्दै भन्छन् “खेलौँ, लाखौँ कमाइन्छ”

काठमाडौं : नेपाली नम्बरबाट आएको कलमा प्रस्ट नेपाली बोल्ने एक महिलाले सोधिन् “तपाईँ अनलाइन गेम खेल्नुहुन्छ?” फिफा विश्वकपको चर्किएको माहोलकाबीच आएको यो कल अनलाइन जुवासँग जोडिएको हुनसक्ने भएकाले सोधे “कुन हो यो”

उत्तर आयो “इ-सेवा”

“इसेवाले कहिलेबाट अनलाइन गेम खेलाउन थाल्यो”

सहजै उत्तर आयो “खेलाउँछ नि। खेल्ने भए ह्वाट्स एपमा कुरा गरौँ।”

वानएक्सबेट, वुल्फत्रिपलसेभेनदेखि बाजीसम्म नामका अनलाइन जुवा खेलाउनेहरूको एजेन्टहरू नेपालमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट पटक पटक पुष्टि भएको तथ्य हो। नेपाल क्रिकेट एसोसिएसनले नेपाल प्रिमियर लिग जस्तो युवामाझ लोकप्रिय खेलमा सरोगेट विज्ञापनबाट नेपालमा प्रतिबन्धित अनलाइन जुवाको प्रवर्धनमा सक्रिय छन्। पछिल्लो समय भने सरकारले नेपालमा सबै प्रकारका अनलाइन जुवा खेलाउने साइटहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

केही वालेटहरू नेपालको कानुनले प्रतिबन्ध लगाएको अनलाइन जुवाको रकम भुक्तानी नै जोडिएको खुलेको पनि सार्वजनिक रूपमा अनलाइन नै खोलेर ‘गेम’ खेलाएको सार्वजनिक भएको थिएन।

केही समयमै ह्वाट्सएपमा कल आयो। नम्बर नेपाली थिएन, कम्बोडियाको थियो। स्वर पहिला जसले नेपाली नम्बरबाट कल गरेकी थिइन् उनकै थियो। पहिला कल गरिन् अनि मेसेजमा कुरा सुरु भयो।

“अघि त नेपालको नम्बर थियो। कताबाट कम्बोडिया देखायो ?”

मेसेज आयो “धेरै वटा कम्पनीमा छ यो। त्यही भएर।”

“स्क्याम हो कि क्या हो”

“हैन सर, म आफ्नो दाजुभाइलाई त्यस्तो स्क्याममा पार्ने काम गर्दिन”

“अनि कम्बोडियामा पनि इसेवा छ त?”

लिंक आयो- esewa12। कुनै डोमेन प्रोमा थिए त कुनै ओआरजीमा। क्लिक गरेर हेर्दा यो अनलाइन जुवाको लागि झुक्क्याउन इसेवाको नाम दुरुपयोग गरेर खुलेको साइट भन्ने पक्का भइहाल्यो।

त्यसपछि अडियो सन्देश आउन थाल्यो। त्यसमा कसरी खेल्ने, कति बोनस आउँछ अनि यो नेपालमा कति सुरक्षित छ भन्ने जानकारीहरू थिए।

अनलाइन जुवा खेल्न कल आएको नेपाली नम्बर र कम्बोडियाबाट ह्वाट्सएपमा कल आएको नम्बर।पटक पटक लगइन गरेर अकाउन्ट बनाएर रकम हाल्न आग्रह आइरहेको थियो। दिइएको विवरणमा नेपालकै बैंकको विवरण थियो जहाँ सहजै ई सेवासहितका वालेट वा सिधै आफ्नो बैंक अकाउन्टबाट रकम जम्मा गर्न सकिने उल्लेख थियो।

अनि जति जितिन्छ त्यो पनि आफ्नै बैंकमा आउने दाबीसहितका अडियो मेसेज आइरहे।

“एक जनाले ३० लाखसम्म जितेका छन्। जितेको पैसा दिनको १० लाखसम्म तपाईँकै बैंकमा ट्रान्सफर गर्न सकिन्छ” भन्दै जुवा खेल्न उक्साउने क्रम निरन्तर थियो।

OOO

यस्ता साइटहरू कहाँबाट सञ्चालित हुन्छन् र को-को संलग्न छन् भन्ने विवरण सार्वजनिक हुन्न। केही प्राविधिक पक्षबाट सामान्य अनुमान भने लगाउन सकिन्छ। यसको डोमेनबाट यो कहाँबाट सञ्चालित हुनसक्छ भनेर प्राविधिक पक्ष हेर्दा यो भर्खरै खुलेको डोमेन देखियो। प्राविधिक रूपमा हेर्दा यो हङकङ/चीन तथा दक्षिण-पूर्वी एसियाली मुलुक कम्बोडिया वा फिलिपिन्स देखायो।

यस्ता अवैध काम गर्नेहरूले डोमेन दर्ता गर्दा आफ्नो वास्तविक नाम, ठेगाना र फोन नम्बर लुकाउन हुइज प्राइभेसी सुविधा प्रयोग गर्ने भएकाले थप डिटेल आएन।

तर यो कम्बोडिया, म्यानमार वा दुबई बस्ने गिरोहले विश्वकपको माहौलमा नेपालीलाई जुवा खेलाउन प्रयोग भइरहेको देखियो। अनि त्यसका लागि उनीहरूले नेपालीलाई नै खटाएको देखियो।

प्राविधिक खोजमा यो डोमेनले प्रयोग गरेको आइपी एड्रेसको आधारमा यसैको सर्भरमा पाकिस्तान, बङ्गलादेश र भियतनामलाई लक्षित गरिएका अवैध जुवा, ब्याटिङ र स्लट गेम खेलाउने बाजी लगायतका साइटहरू समेत होस्ट भएको देखियो।

प्रारम्भमा कल आएको नम्बर नेपाली थियो। जसले अनलाइन जुवा खेल्न फकाइरहेकी थिइन् तीनको लवजले नेपाली जान्ने कुनै विदेशी हैन, नेपाली नागरिकै रहेको देखियो। ह्वाट्स एपकलको नम्बर कम्बोडियाको थियो।

केही दिन अगाडि मात्रै कम्बोडियामा साइबर ठगी र जुवा खेलाउन सञ्चालित केन्द्रहरूमा २ सय ७७ जना नेपालीहरू पुगेको तथ्य खुलेको थियो। कम्बोडियाको सिम्ली र नोम्टेन नामक स्थानका यस्ता केन्द्रहरूमा रहेका नेपालीहरू प्रहरी छापामा पक्राउ परेपछि उनीहरू भिसाको म्याद सकिए पनि त्यहाँ बसिरहेको खुलेको थियो।

त्यसमध्ये ७७ नेपालीलाई कम्बोडियाको प्रहरीले नियन्त्रणमा लिएको र उनीहरूलाई नेपाल पठाउन थाइल्यान्डमा रहेको नेपाली दूतावासले पत्र पठाएको थियो।

OOO

उताबाट ह्वाट्सएपमा कल आउनेक्रम जारी थियो। खेलौँ, लाखौँ कमाइन्छ, फसिन्न भन्नेक्रम जारी थियो। नेपालमा त प्रहरीले थाहा पायो भने समात्छ नि भन्ने मेसेजको जवाफ आयो "नेपालको पुलिसको कामै के छ र। आफू मात्रै कमाउने त हुन्।"

असार १६, २०८३ मंगलबार १९:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।