सुस्ताको माटो बोकेर सिंहदरबार गुहार्न काठमाडौं आइपुगे सुस्तावासी, माइतीघरमा प्रदर्शन

सुस्ताको माटो बोकेर सिंहदरबार गुहार्न काठमाडौं आइपुगे सुस्तावासी, माइतीघरमा प्रदर्शन

काठमाडौं : सुस्ताको माटो बोकेर काठमाडौं पुगेका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले सीमा सुरक्षा, नागरिकता र लालपुर्जाको माग राख्दै मंगलबार माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका छन्। 

सुस्ता बचाउ अभियानको अगुवाइमा भेला भएका उनीहरूले नेपालको सीमा अतिक्रमण रोक्न सरकारले तत्काल प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने माग राखे।

प्रदर्शनकारीले वर्षौंदेखि भोगचलन गरेको जग्गाको नापजाँच गरी लालपुर्जा वितरण गर्न र सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन माग गरे। 

उनीहरूले 'सीमानाका पहरेदारलाई नागरिकता खै?', 'आफ्नै घरमा सुकुम्वासी, यो कस्तो विडम्बना साथी!, 'अतिक्रमण होइन, सार्वभौम सम्मान दे', 'सुस्ता बचाउ, सुकुम्वासीलाई बचाउ' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। नेपाली नागरिकको सुरक्षा, पहिचान र अधिकार सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ। 

भारतीय सुरक्षाकर्मीबाट विभिन्न समयमा दुःख, दबाब र अवरोध खेप्नुपरेको सुस्तावासीको गुनासो छ। भारतीय पक्षबाट आफूहरू प्रताडित हुनुपरेको उनीहरूको दुखेसो छ। आफ्ना मागहरू पूरा नभएसम्म शान्तिपूर्ण धर्ना र आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिए।

असार १६, २०८३ मंगलबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।