प्रमुख दलहरू संघीयताप्रति इमान्दार भएनन् : उपेन्द्र यादव

प्रमुख दलहरू संघीयताप्रति इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित विचार आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले एकाध पार्टीबाहेक अधिकांश प्रमुख राजनीतिक दलहरू संघीयताप्रति इमान्दार नदेखिएको बताए।

उनले भने, "नेपाल परिभाषाले संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भनेर प्रस्तावनामै लेखेको छ। तर, अभ्यास त्यस्तो छैन। किनभने नेपालमा एकाध पार्टी बाहेक संघीयताप्रति इमान्दारिता देखिएन।"

आफू उपप्रधानमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीसँग संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर भए पनि पछि संघीयता र धर्मनिरपेक्षता बाह्य शक्तिले थोपरेको भन्दै सहमतिबाट नेताहरू पछि हटेको उनले स्मरण गरे। 

त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि प्रदेश प्रहरी समायोजन लगायतका विषयमा सहमति भएको तर ऐन बनेर पनि सरकार कार्यान्वयनबाट पछि हटेको उनले बताए। 

कांग्रेस र कम्युनिस्ट दलहरूले भाषणमा संघीयताको कुरा गरे पनि व्यवहारमा प्रतिबद्धता नदेखाएको भन्दै यादवले अब भाषणभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।

असार १६, २०८३ मंगलबार १६:०४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।