सरकारी हस्तक्षेपले एन्फा प्रतिबन्धमा परेको ओलीको आरोप; 'साना देशले विश्व फुटबलमा तहल्का मच्चाउँदा हाम्रोमा उल्टोपाल्टो!'
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेको आरोप लगाएका छन्।
नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलामा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले विश्वका साना र अल्पविकसित मुलुकहरूले फुटबलमा चमत्कारिक सुधार गरिरहेका बेला नेपालमा भने सरकारी हस्तक्षेपले खेल क्षेत्र धराशायी बनेको दाबी गरे।
"अहिले विश्व फुटबल चलिरहेको छ। हामीभन्दा साना देशहरूले कमालको प्रदर्शन गरिरहेका छन्। हाम्रो एन्फा अन्तर्राष्ट्रिय खेलका लागि प्रतिबन्धित भएको छ। कस्तो उल्टोपाल्टो कुरा छ," उनले भने, "हामीभन्दा साना देशहरू आश्चर्यजनक ढंगले खेलिरहेका छन्। अल्पविकसित, विकासशीलतामा भर्खर प्रवेश गर्दै गरेका देशहरूले विश्व फुटबलमा तहल्का मच्चाएका छन्, तर नेपाली फुटबल प्रतिबन्धमा छ।"
खेलकुद समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै ओलीले सरकारको हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धको हुन पुगेको एन्फाको अवस्थालाई परिवर्तन गर्नुपर्ने बताए।
उनले खेलकुद क्षेत्रमा योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा अवसर प्रदान गरिनुपर्नेमा जोड दिए। खेलाडीको क्षमता पहिचान गरी सम्बन्धित विधामै प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै ओलीले क्षमता नभएको विधामा जबरजस्ती अघि बढाउँदा अपेक्षित परिणाम प्राप्त नहुने बताए।
खेलाडीले पर्याप्त पोषण, प्रशिक्षण र शारीरिक विकासका लागि आवश्यक वातावरण पाउनुपर्नेमा जोड दिँदै उनले त्यस्तो अवस्था सिर्जना गर्न सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए।
उनले भने, "खेलाडी खान नपाएर कमजोर हुने, खेलाडीले उपयुक्त शारीरिक विकास गर्न नपाउने जस्तो खालको स्थिति हुनुहुँदैन। यतातिर सरकारले पनि ध्यान दिनुपर्ने हो। तर सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ। यस स्थितिलाई हामीले परिवर्तन गर्नै पर्छ।"
असार १६, २०८३ मंगलबार १५:४९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।