आलुका बोरा मुनि गाँजाको तस्करी! पाँच आरोपीमाथि अनुसन्धान सुरु

आलुका बोरा मुनि गाँजाको तस्करी! पाँच आरोपीमाथि अनुसन्धान सुरु
फाइल तस्बिर

विराटनगर : कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागुऔषधविरुद्धको अभियानअन्तर्गत मंगलबार धनकुटा र मोरङका विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेका पाँच जनामाथि अनुसन्धान सुरु भएको छ। 

पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, छ ग्राम १० मिलीग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ। 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-६ स्थितबाट को१ख ४६३५ नम्बरको मिनीट्रकलाई शङ्का लागि जाँच गरेको थियो। 

जाँच गर्दा ट्रकको डालाभित्र आलुको बोराहरूले लुकाइछिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्याउँदै गरेको ७७५ किलोग्राम गाँजासहित चालक सुनसरीको इटहरी उपमहानगरपालिका-१ का ३३ वर्षीय परीक्षण कुँवरलाई पक्राउ गरेको थियो।

त्यसैगरी, इलाका प्रहरी कार्यालय राजारानीले साँगुरीगढी गाउँपालिका-५ का २४ वर्षीय विशेष राईलाई २० किलोग्राम गाँजा र बा६४प १४३५ नम्बरको मोटरसाइकल, मोरङको प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-६ का बिकुल राई र ज्ञानेन्द्र विकलाई तीन ग्राम ५०० मिलीग्राम ब्राउन सुगर र  इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-६ का प्रदीप मण्डललाई दुई ग्राम ५१० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रवक्ता थापाले जानकारी दिए।

असार १६, २०८३ मंगलबार १५:०३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।