रास्वपाको केन्द्रीय सदस्यबाट कृष्णमान र सोमको नाम हट्यो, ध्रुवकुमार र पूजाको नाम थपियो

रास्वपाको केन्द्रीय सदस्यबाट कृष्णमान र सोमको नाम हट्यो, ध्रुवकुमार र पूजाको नाम थपियो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कृष्णमान श्रेष्ठ र सोम शर्मालाई केन्द्रीय सदस्यबाट हटाएर ध्रुवकुमार थापा मगर र पूजा बास्तोलाको नाम राखेको छ। प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची घोषणा गर्दा क्लस्टर अनुसार नमिलेको भन्दै निर्वाचन आयोगले दुई जनाको नाम हटाएर दुई जनाको नाम थपेको हो। 

रास्वपा निर्वाचन आयोगका संयोजक भुवन केसी थिए। महाधिवेशनमा बढी मत ल्याए पनि निर्वाचित नगरेको भन्दै बास्तोलाले त आयोगको घोषणा विरुद्ध सर्वोच्च अदालत जाने चेतावनी दिएकी थिइन्। निर्वाचन आयोगले पनि क्लस्टर मिलाउने क्रममा त्रुटि भएको भन्दै निर्वाचित केन्द्रीय सदस्यको सूची सच्याएको हो।  

ध्रुवकुमार थापामगर क्लस्टर अनुसार र प्रादेशिक (भूगोलतर्फ) गण्डकीबाट बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मा हुन गएको भन्दै मत परिणामको आवश्यक अध्ययन गरेर बास्तोलालाई निर्वाचित घोषणा गर्ने निर्णय गरिएको आयोगको निर्णयमा उल्लेख छ।

असार १६, २०८३ मंगलबार १४:४३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।