भारी वर्षाको पूर्वानुमानपछि झापामा ‘हाइ अलर्ट’
भद्रपुर : जल तथा मौसम विज्ञान विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले सोमबार विज्ञप्ति जारी गर्दै मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको हो।
प्रशासनले सर्वसाधारणलाई आकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी लिन अनुरोध गरेको छ।
झापाका मुख्य नदीहरू कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्र बाढीबाट बढी प्रभावित हुने गरेका छन्।
जिल्लाका १५ पालिकामध्ये दक्षिणी भेगका गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर बाढी र डुबानको उच्च जोखिममा छन्।
सम्भावित विपद्को सामना गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहका संयन्त्रलाई राहत सामग्रीसहित तयारी अवस्थामा राखिएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत प्रतिकार्य योजना नै बनाएर पूर्वतयारी गरेको बताए।
उनले जिल्लामा बाढी नै पहिलो प्राथमिकताको प्रकोप रहेकाले जनधनको क्षति हुन नदिन सुरक्षा निकाय र स्थानीय पालिकासँग निरन्तर समन्वय गरिरहेको जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार जिल्लाका आठ हजारभन्दा बढी घरधुरी बाढीको अति उच्च जोखिममा छन्।
रेडक्रस झापाका सभापति लोकराज ढकालले विगतको क्षतिलाई मध्यनजर गर्दै यस पटक पूर्वसूचना प्रणाली र स्थानीय तहको सक्रियतामा विशेष जोड दिएको बताए।
उनले आकस्मिक अवस्थाका लागि जिल्लाका सात स्थानमा खाद्यान्नलगायतका राहत सामग्री भण्डारण गरिएको र १२० जनाभन्दा बढी स्वयंसेवक तथा प्राथमिक उपचार टोली तयारी अवस्थामा रहेको जानकारी दिए।
यसैबीच, समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता बढाउन कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालय र सशस्त्र प्रहरी बलको आयोजनामा विशेष तालिम सम्पन्न भएको छ।
असार ९ गतेदेखि सञ्चालित सो तालिममार्फत भद्रपुर, विर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिकाका २० नगर प्रहरीलाई समुदायस्तरमा विपद् व्यवस्थापन र उद्धारका लागि दक्ष बनाइएको छ।
असार १६, २०८३ मंगलबार १०:२१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।