हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम वितरण
स्याङ्जा : गल्याङ नगरपालिकाले परम्परागत रूपमा हल गोरु पाल्ने कृषकहरूलाई प्रोत्साहनस्वरूप जनही ५ हजार रुपैयाँ उपलब्ध गराएको छ।
आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै रैथाने हल गोरु पाल्ने चलन घट्दै गएकाले कृषकहरूलाई यसतर्फ आकर्षित गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको हो।
चालू आर्थिक वर्षमा नगरपालिकाका ११ वटै वडाका ११५ जना कृषकलाई प्रोत्साहन रकम वितरण गरिएको छ।
ग्रामीण भेगमा पावर टिलरका लागि इन्धनको सहज उपलब्धता नहुनु, मर्मत गर्न कठिन हुनु र दक्ष जनशक्तिको अभाव हुने भएकाले हल गोरुको उपयोगिता अझै उत्तिकै रहेको छ।
कृषकहरूले गोरुको बिमा कागजात र गोठमा रहेको गोरुको तस्बिरसहित आवेदन दिएका थिए। सो आवेदनका आधारमा नगरपालिकाले स्थलगत अनुगमन गरी कृषकहरूको बैंक खातामा सिधै रकम भुक्तानी गरेको हो।
छुटेका कृषकहरूलाई समेट्ने गरी आगामी आर्थिक वर्षमा पनि यो प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।
असार १६, २०८३ मंगलबार ०७:५३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।