पुँजी बजारमा फैलाइएको अनावश्यक त्रास चिर्न अर्थमन्त्रीको निर्देशन

पुँजी बजारमा फैलाइएको अनावश्यक त्रास चिर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं : पुँजी बजारका चुनौती चिर्दै लगानीकर्ताको हित रक्षा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई इमानदारी र पारदर्शिताका साथ काम गर्न निर्देशन दिएका छन्। 

सोमबार मन्त्रालयमा बोर्डका नवनियुक्त अध्यक्ष भट्टलाई शपथ गराएपछि वाग्लेले लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिए। असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई निर्देशन दिए। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन विशेष ध्यान दिनुपर्ने पनि उनको भनाइ छ।

‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका  लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,’ डा.वाग्लेले भने, ‘म साथमा छु। सरकारले सबैखाले सहयोग गर्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस्।’

उनले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए।

बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै वाग्लेले त्यसलाई चिर्न पनि निर्देशन दिए। उनले बोर्ड अध्यक्ष भट्टलाई धेरै बोलेर नभई कामले प्रमाणित गर्न पनि भने।

‘पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा कन्फिडेन्स बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,’ वाग्लेले भने, ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन। धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ।’

अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए। आफ्नो ज्ञान, अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ।

असार १५, २०८३ सोमबार ११:३५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।