उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो

उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो

गाईघाट : उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको छ। 

कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए। 

प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगरलगायतको कर्कटपाताको छानो भएको काठको घर भत्काएको हो ।

यस्तै, हात्तीले स्थानीयको घरको अन्नपातसमेत खाएको छ। राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताए। हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ।

कोशीटप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र ४५ चोक आसपास क्षेत्रको जङ्गलमा रहेको बताइएको छ। अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताए। 

असार १५, २०८३ सोमबार १०:३०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।