नियतिको क्रूर प्रहार : स्वर्गद्वारीमा ७ वर्षमा बिलाए राना परिवारको तीन खम्बा

नियतिको क्रूर प्रहार : स्वर्गद्वारीमा ७ वर्षमा बिलाए राना परिवारको तीन खम्बा

बुटवल : २०७५ असोजमा ह्दयघातका कारण भीम रानाको मृत्यु भयो। विद्यार्थी राजनीति र कला क्षेत्रका सक्रिय उनको उमेर मात्र ३८ वर्ष पुगेको थियो।

त्यस्तै २ वर्षपछि २०७७ चैतमा जन्डिसका कारण ४१ वर्षका योगेश रानाको पनि अल्पायुमै मृत्यु भयो। घरका जेठा मीनराज रानाको पनि ५० वर्षको उमेरमा शनिवार मृत्यु भयो। उनको मृत्यु पनि कालगतीबाट भएन, दुर्घटनामा मृत्यु भयो।

यसरी सात वर्षको बिचमा प्युठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङ, वाङगेसल्लाको एकै परिवारका तीन जनाको अल्पायुमै मृत्यु भयो। घरका जेठा मीनराज स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख थिए।

शनिवार प्युठानमा नागरिकका समस्या सुन्न गाउँ घुमेर फर्कनेक्रममा मीनराजले चलाइरहेको गाडी दुर्घटनामा पर्यो। गम्भीर अवस्थामा भेटिएका उनलाई उपचारका लागि अस्पताल पूर्याइए पनि ज्यान बच्न सकेन।

राना परिवार प्युठानमै परिचित थिए। कम्युनिस्टको गढ मानिने जिल्लाका यी तीनै जना मसलामा आबद्ध भएर राजनीतिमा पनि सक्रिय थिए। 

उपप्रमुख राना २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट उपप्रमुख निर्वाचित भएका थिए। आफ्नो क्षेत्रमा व्यावहारिक नेताका रूपमा परिचित उनी वाङगेसल्ला स्थायी घर भए पनि जलुकेमा व्यवसाय गरेर बसेका थिए।

प्राय आफ्नो क्षेत्रका स्थानीयहरूको सल्लाह र गुनासो सुन्न उनी आफैँ गाउँ गाउँ पुगिरहन्थे। दुर्घटना भएको दिन पनि उनी पोषण सम्बन्धी कार्यक्रमको अनुगमनमा गएका थिए। तर फर्कनेक्रममा गाडी दुर्घटनामा पर्यो।

स्वर्गद्वारी–२ का वडाध्यक्ष बुद्धिराम पुनले उपप्रमुख मीनराज प्राय आफैँ फिल्डमा खटिने स्वभावको रहेको बताए। नगरपालिकाको काम कस्तो भइरहेको छ भन्ने बुझ्न उनी गाउँगाउँमा पुगिरहेका हुन्थे।

" जनताकै काम फत्ते गरेर फर्किने क्रममा यस्तो हुनु नियतिको निकै ठूलो अन्याय हो," पुनले भावुक हुँदै भने।

वैचारिक र सांस्कृतिक आन्दोलनका धरोहर

राना परिवारका तीनै दाजुभाइको राजनीतिक यात्रा र मोर्चा फरक-फरक थियो। प्युठानमा मसाल र वामपन्थी राजनीतिको चर्चा गर्दा अग्रपंक्तिमा उनीहरू तीनै दाजुभाइको नाम आउँछ।

मीनराज राना राष्ट्रिय जनमोर्चाको जिल्ला सचिवालय सदस्यका रूपमा नीतिगत र सांगठनिक काममा सक्रिय थिए। भीम राना विद्यार्थी राजनीतिबाट उदाएका थिए र अखिल (छैटौँ) को जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्य र देशभक्त सांस्कृतिक मोर्चा 'रक्तिम सांस्कृतिक अभियान' का स्थापित जनवादी कलाकार थिए।

योगेश राना भूमिगत र खुला दुवै कालखण्डमा पार्टीको संगठन विस्तार र जनसम्पर्कका कुशल संवाहक थिए।

रित्तिएको आँगन

दुर्घटनाको दिन पनि मीनराज आफ्नो पदीय विलासिताभन्दा टाढा रहेर दुर्गम गाउँमा पोषण कार्यक्रमको भुइँतहको अनुगमनका लागि पुगेका थिए। कार्यक्रम सकेर आफैँ स्टेरिङ सम्हालेर फर्किएका उनी कहिल्यै घर फर्कन सकेनन्।

उनको यो अप्रत्याशित बिदाइले श्रीमतीले आफ्नो खम्बा गुमाएकी छन् भने तीन छोराहरूले अभिभावक। हिजो दाजुभाइको हाँसो र आन्दोलनको राँकोले गर्जिरहने त्यो घरमा अहिले केवल कान्छा भाइ लोकेन्द्र र बहिनी मनीषा मात्र बाँकी छन्, जसको भागमा आफ्नै आँखा अगाडि तीन दाजुहरूलाई गुमाउनुपरेको असह्य र निरन्तरको रोदन मात्र परेको छ।

असार १४, २०८३ आइतबार २०:१५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।