१५ औँ महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेस फुटिसकेको एमाले अध्यक्ष ओलीको दाबी

१५ औँ महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेस फुटिसकेको एमाले अध्यक्ष ओलीको दाबी

काठमाडौँ : एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीले १५ औँ महाधिवेशनको तयारी गरिरहेको नेपाली कांग्रेस फुटेको दाबी गरे। विशेष महाधिवेशनपछि १५ औँ महाधिवेशन गर्न विषयमा कांग्रेसमा विवाद भए पनि विभाजनको औपचारिक घोषणा भएको छैन।

ओलीले मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षडयन्त्र भइरहेको दाबी गर्दै सोही प्रयास अन्तर्गत कांग्रेस फुटाइएको दाबी गरे।

अन्य पार्टीहरूमा पनि फुट ल्याउने कोसिस भइरहेको दाबी गर्दै उनले एमालेलाई भने कसैले फुटाउन नसक्ने ठोकुवा गरे। "बाहिरबाट कसैले हात हाल्न खोजे त्यस्ता कुरालाई हामी चिन्छौँ र पराजित गर्छौँ। नेकपा एमाले एकताबद्ध छ र रहनेछ," उनले दाबी गरे।

प्रतिगमनको सिलसिला जारी छ

अध्यक्ष ओलीले भदौ २३ र २४ गतेबाट सुरु भएको प्रतिगमनको सिलसिला अझै जारी रहेको दाबी समेत गरे। नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी प्रतिगामी षडयन्त्र भएको र त्यही षडयन्त्रले वैधानिक सरकारलाई विस्थापित गरेर संसद् विघटन गरेर असंवैधानिक सरकार बनाएको उनले दाबी गरे। उनले एमालेविरुद्ध झुटा प्रचार र अफवाह फैलाएर जनतामा आक्रोश पैदा गरिएको टिप्पणी समेत गरे। 

"हामी मरेका छैनौँ, फेरि उठ्छौँ र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौँ। धुलो टकटक्याउँदै उठ्छौँ र अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौँ।"

‘चुनावको परिणाम पहिले नै तय थियो’

फागुन २१ मा निर्वाचनको मिति घोषणा भएदेखि नै विपक्षमा रहे पनि ओली पछि निर्वाचनमा सहभागी हुन तयार भएका थिए। निर्वाचनमा उनी त पराजित भए नै संसदमा एमाले तेस्रो दलमा खुम्चियो। कार्यक्रममा अघिल्लो चुनावको प्रसंग उठाउँदै ओलीले त्यो निर्वाचन वामपन्थी र लोकतन्त्रका लागि नभई प्रतिगमनलाई वैधानिक ढङ्गले अघि बढाउन गरिएको दाबी समेत गरे।

"हामीले यो चुनाव रोकौँ भन्दा साथीहरूले एमालेका लागि भिर र आफ्ना लागि हाइवे ठाने," ओलीले भने, "त्यो बेलाको चुनावको परिणाम पहिले नै तय जस्तै थियो, हामीले अरूलाई कन्भिन्स गर्न सकेनौँ।"

असार १४, २०८३ आइतबार १७:५५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।