हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : ओली
काठमाडौं : एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले धक्का खाए पनि समाप्त नभएको दाबी गर्दै एमाले पुनः धुलो टक्टक्याउँदै उठेर प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिहरूलाई पराजित गर्ने बताएका छन्।
आइतबार काठमाडौँमा मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर नठान्न चेतावनी दिए।
उनले भने, "हामी अहिले लडेका छौँ तर मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं। धुलो टक्टक्याउँदै उठ्छौं। अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं।"
अध्यक्ष ओलीले एमालेको नीति र विचार सही रहेको दाबी गर्दै कुनै पनि शक्तिसँग विचार वा नीति परिवर्तन गरेर एकता गर्ने पक्षमा पार्टी नरहेको प्रष्ट पारे। पार्टीको मूल गन्तव्य 'समृद्ध नेपाल, सुखी नेपाली' रहेको उल्लेख गर्दै उनले यसलाई नै समाजवादको व्यावहारिक स्वरूपका रूपमा व्याख्या गरे। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा एमालेले सही नीति निर्धारण गरेको उनको भनाइ थियो।
उनले भने, "हाम्रा नीतिहरू बिल्कुल सही छन्। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा सही नीति निर्धारण गरेका छौं।"
वर्तमान सरकारलाई 'प्रतिगमनको उपज' भन्दै ओलीले लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने उद्देश्यका साथ तत्कालीन वैधानिक सरकार ढालिएको आरोप लगाए। वर्तमान सरकारले संविधानविपरीत अध्यादेश ल्याएको, श्रमिक अधिकार कमजोर बनाएको र राष्ट्रिय हितविपरीतका गतिविधि गरेको भन्दै उनले आपत्ति जनाए।
विगतको संसद् विघटन र चुनावको प्रसंग उठाउँदै उनले भने, "हामीले यो चुनाव रोकौँ भन्दा साथीहरूले एमालेका लागि भिर र आफ्नो लागि हाइवे हो भन्ने ठाने। तर त्यो चुनाव वामपन्थी र लोकतान्त्रिकहरूका लागि थिएन, परिणाम पहिले नै तय थियो। अहिले पनि त्यही प्रतिगमनको सिलसिला जारी छ।"
ओलीले एमालेविरुद्ध झुटा प्रचार, अफवाह र चरित्रहत्या गरेर जनतामा भ्रम सिर्जना गरिएको आरोप पनि लगाए।
"हामीले देश बर्बाद पारेका होइनौँ। झुटा प्रचार गरेर हामीलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने काम गरियो," उनले आक्रोश पोखे।
मदन भण्डारीको योगदान स्मरण गर्दै ओलीले छोटो जीवनकालमै उनले नेपाली कम्युनिस्ट आन्दोलनमा असाधारण र इतिहासलाई नै प्रभावित पार्ने काम गरेको बताए।
"उहाँको जीवनकाल छोटो रह्यो। छोटो समयमै उहाँले असाधारण काम गर्नुभयो र इतिहासलाई प्रभावित पार्नुभयो," उनले भने।
सोभियत संघको विघटन र पूर्वी युरोपमा समाजवाद पतन भई विश्वभर कम्युनिस्ट आन्दोलन संकटमा परेका बेला भण्डारीले अघि सारेको 'जनताको बहुदलीय जनवाद' (जबज) को प्रकाशले नै नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ बाटो देखाएको उनले उल्लेख गरे।
असार १४, २०८३ आइतबार १७:२८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।