'कुराले चिउरा भिज्दैन, अहंकार र भ्रष्टाचार छाडेर व्यवहारमै कम्युनिस्ट एकता गरौँ' - माधव नेपाल

'कुराले चिउरा भिज्दैन, अहंकार र भ्रष्टाचार छाडेर व्यवहारमै कम्युनिस्ट एकता गरौँ' - माधव नेपाल

काठमाडौं : नेपाली  कम्युनिस्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट नेताहरूमा बढेको अहंकार, व्यक्तिवाद र भ्रष्टाचारका कारण आन्दोलन संकटमा परेकाले इमानदार आत्मसमीक्षा र व्यवहारिक सुधार गरेर मात्रै कम्युनिस्ट पार्टीहरूबीच वास्तविक एकता सम्भव हुने बताएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिस्ट घटकहरूलाई अहंकार त्यागेर जनतासँग जोडिन आग्रह गरे।

मदन भण्डारीको भनाइ स्मरण गर्दै उनले भने, 'कुराले चिउरा भिज्दैन। त्यसैले व्यवहारमै दिगो एकता र सहकार्य देखिनुपर्छ।'

नेपालले नेपालको राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गर्दै विदेशी शक्तिको बढ्दो प्रभावप्रति सतर्क रहनुपर्ने बताए। नेपाल कुनैपनि छिमेकी राष्ट्रविरुद्ध गतिविधि सञ्चालन गर्ने केन्द्र बन्न नहुने उल्लेख गर्दै राष्ट्रिय हितको रक्षा गर्न सबै देशभक्त शक्तिहरूबीच एकता आवश्यक रहेको उनको भनाइ थियो।

वर्तमान सरकारको परराष्ट्र नीतिप्रति पनि उनले प्रश्न उठाए । विदेशी शक्तिको चलखेलप्रति सरकार पर्याप्त सचेत नरहेको आरोप लगाउँदै लोकतन्त्र, गणतन्त्र र जनअधिकारको संरक्षणमा कम्युनिस्ट शक्तिहरू अग्रसर हुनुपर्ने उनले बताए।

उनले भने, ‘राष्ट्रियतासामु अहिले ठूलो चुनौती छ। विदेशी शक्तिको बढ्दो चलखेलप्रति सचेत हुनुपर्छ। नेपाल कुनैपनि छिमेकी राष्ट्रविरुद्ध गतिविधि सञ्चालन गर्ने केन्द्र बन्नु हुँदैन। राष्ट्रिय हितको रक्षा गर्न सबै देशभक्त शक्तिहरू एकजुट हुन आवश्यक छ। वर्तमान सरकार यस विषयमा पर्याप्त संवेदनशील देखिएको छैन। लोकतन्त्र, गणतन्त्र र जनअधिकारको संरक्षणमा कम्युनिस्ट शक्तिहरूले अग्रसर भूमिका खेल्नुपर्छ।’

उनले कम्युनिस्ट नेताहरू जनताको बीचमा पुगेर उनीहरूको समस्या र पीडालाई उठाउनुपर्ने आवश्यकता औँल्याउँदै संसद्, सडक र जनस्तरमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। आत्मकेन्द्रित सोच र स्वार्थी प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाउने भएकाले त्यसबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो।

मदन भण्डारीको योगदान स्मरण गर्दै नेपालले उनको दूरदृष्टि, संगठनात्मक अनुशासन, लोकतान्त्रिक अभ्यास र कार्यकर्तालाई उत्साहित गर्ने नेतृत्व शैलीबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताए। उनले मदन भण्डारीको मृत्युलाई अझै पनि शंकास्पद घटना भन्दै त्यसको सत्यतथ्य उजागर हुनुपर्ने धारणा पनि व्यक्त गरे।

असार १४, २०८३ आइतबार १६:५३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।