वामपन्थीहरू छिट्टै एकजुट बनौँ : प्रचण्ड
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कम्युनिस्ट आन्दोलन सिध्याउन विश्वभरका प्रतिक्रियावादीहरू लागिपरेको दाबी गर्दै वामपन्थीहरू छिट्टै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले गत भदौ २४ पछि मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको र प्रतिक्रान्तिकारी कदम बढेको टिप्पणी गरे।
विगतका राजनीतिक उतारचढाव र फुटको समीक्षा गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीहरू आवेगमा नभई दरो आत्मसमीक्षाका साथ अघि बढ्नुपर्ने बताए। उनले हतारमा मिल्ने र फुर्सदमा रोएर बस्ने प्रवृत्ति दोहोरिन नहुनेमा समेत जोड दिए।
उनले स्वाधीनता रक्षा र वैदेशिक दबाबविरुद्ध लड्न संसद्, सडक, चुनाव जता एकता गर्न सकिन्छ त्यहीँ तुरुन्त कार्यगत एकता र सहकार्य गर्नुपर्ने बताए।
‘यो परिस्थितिमा हामीले ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, निरकुंशताका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी एकता र सहकार्य गर्नुपर्छ’, प्रचण्डले भने, ‘सहकार्य गर्न ढिलो गर्दा दुर्घटना हुनसक्छ।’
राष्ट्रियतामाथि आएको चुनौतीको सामना गर्न सबै शक्तिहरू मिल्नुको विकल्प नरहेको उल्लेख गर्दै प्रचण्डले सबैलाई ढिला नगरी एकताको वातावरण बनाउन आग्रह समेत गरे।
प्रचण्डले इतिहासलाई समय र परिस्थितिको सन्दर्भमा मूल्याङ्कन गर्नुपर्ने धारणा राख्दै कुनैपनि नीति वा विचारलाई स्थायी सत्यका रूपमा लिन नहुने बताए ।
‘सबै कुरा सर्वकालिक हुँदैनन्। ठोस वस्तुको ठोस विश्लेषण नै माक्र्सवादको जीवित आत्मा हो। सबै सत्यहरू सापेक्षिक छन्, निरपेक्ष केही पनि छैन,’ उनले भने।
उनले माक्र्सवादी दर्शनले परिवर्तनलाई नै स्थायी सत्यका रूपमा स्वीकार गर्ने भएकाले समयको मागअनुसार नीति, सिद्धान्त र कार्यदिशाको विकास गर्नुपर्नेमा जोड दिए।
असार १४, २०८३ आइतबार १६:३४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।