चुनाव हारेपछि झलनाथको आत्मसमीक्षा : अहंकारले कम्युनिस्ट सकिए, अब वामपन्थी एकता गरौँ

चुनाव हारेपछि झलनाथको आत्मसमीक्षा : अहंकारले कम्युनिस्ट सकिए, अब वामपन्थी एकता गरौँ

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका ठूला कम्युनिस्ट पार्टीहरू फुट्दा निर्वाचनमा  हार व्यहोर्नुपरेको बताएका छन्। 

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले फेरि वामपन्थी शक्तिहरू एकताबद्ध हुनुको विकल्प नभएको बताए।

कम्युनिस्टहरू छिन्नभिन्न भएकाले देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले बबण्डर मच्चाएको उनले टिप्पणी गरे। उनले रास्वपा नेतृत्वको सरकारका प्रधानमन्त्री वालेद्र शाहलाई 'तानाशाही' को आरोप समेत लगाए।

"यदी यी दुइटै दलले मात्रै निर्वाचनभन्दा अगाडि कार्यगत एकता गरेको भए। हिसाब गर्नुस् .... करिब १०० सिट बामपन्थीको हुन्थ्यो। आज यो बालेन तानाशाही चल्ने थिएन। देशको परिस्थिति बेग्लै हुन्थ्यो। हामी इतिहास र जनताले माग गरेका कुरा अनुरुप अघि बढन सक्यौं कि सकेनौं? यो आत्मसमीक्षा गर्ने घडी पनि हो," खनालले भने।

वामपन्थी एकता धेरै अघिदेखि आवश्यक भए पनि नेताहरूमा अहङ्कार पलाएकाले एकता हुन नसकेको खनालले स्वीकार गरे।

उनले भने, "वामपन्थी एकता अनन्तकालदेखि आवश्यकता थियो। बीचको कालखण्डमा हामीमा कहिले सिङ पलायो कहिले जुरो पलायो। कहिले अरू अरू के-के पलायो पलायो। त्यस कारणले एकताबद्ध हुन सकेनौं। अब परिस्थितिले बाध्य बनाएको छ। यसले गर्दा आज हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदैछौं।"

खनालले वैचारिक भिन्नता एउटै गोष्ठीले मात्र नमेटिने भए पनि आजकै दिनदेखि दीर्घकालीन वामपन्थी एकता र कार्यगत सहकार्यको थालनी गर्न सबै कम्युनिस्ट शक्तिहरूलाई आह्वान गरे।

असार १४, २०८३ आइतबार १६:०२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।