प्रतिनिधिसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित
काठमाडौं : प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ पारित भएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक’ सर्वसम्मतिबाट पारित भएको हो भने ‘आर्थिक विधेयक’ बहुमतले पारित भएको हो।
राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए।
“विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन्”, उनले भने, “तर, ऋण लिएर निर्माण गरिएको दुई वटा अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ।”
त्यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राखेको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिएका थिए।
यस्तै, आर्थिक विधेयकमाथि सांसदहरू हरिप्रसाद भुसाल र सुशील खड्काले राखेको संशोधन फिर्ता लिएका थिए। सांसदहरू गङ्गालक्ष्मी अवाल, डा. पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले उक्त विधेयकमाथि राखेको संशोधन बहुमतले अस्वीकृत गरेको थियो।
असार १४, २०८३ आइतबार १५:३५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।