सीमा विवादबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले देशसँग माफी माग्नुपर्छ : एमाले सांसद कंडेल

सीमा विवादबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले देशसँग माफी माग्नुपर्छ : एमाले सांसद कंडेल

काठमाडौं : एमालेका सांसद पुष्पराज कंडेलले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादबारे संसदमा दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने वा संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठमा बोल्दै उनले भविष्यमा नेपाल–भारतबीच सीमा सम्बन्धी वार्ता भए प्रधानमन्त्रीको यही अभिव्यक्ति नेपालविरुद्ध प्रमाण हुनसक्ने बताए। 

उनले भने, ‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधामन्त्रीले देशसँग माफी माग्नु पर्दछ। हामीले यो कुरा किन उठाइरहेको छौं भने कुनै दिन दुई पक्षबिच वार्ता भयो भने प्रधानमन्त्रीको भनाई नेपालको विरुद्धको प्रमाण हुन सक्छ।’

उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसले गम्भीर प्रश्न उठाएको बताए। उनले प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीसँग उक्त दाबीको प्रमाण पेश गर्न, माफी माग्न वा संसद्को रेकड्बाट अभिव्यक्ति हटाउन माग गरिरहेको उल्लेख गरे।

कडेलले सम्बन्धित पक्षले समेत नउठाएको विषय प्रधानमन्त्रीले संसदमा उठाउनु गम्भीर षड्यन्त्रको संकेत हुन सक्ने दाबी गरे।

उनले भने, ‘कहिं नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै देशको प्रधानमन्त्रीले संम्वन्धीत पक्षले समेत नभनेको र अहिलेसम्म कतै नउठेको नेपालले भारतको भूमि मिचेको छ भन्ने संसदमा बोल्ने कुराले गम्भीर षड्यन्त्रको संकेत गर्दछ।’

असार १४, २०८३ आइतबार १२:३३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।