जनमतको दुरुपयोग गरी गणतन्त्र कमजोर बनाउने खेल भइरहेको नेकपाको दाबी

जनमतको दुरुपयोग गरी गणतन्त्र कमजोर बनाउने खेल भइरहेको नेकपाको दाबी

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयास भएको भन्दै आफ्नो पार्टी यसप्रति गम्भीर र सचेत रहेको बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनमतको शक्ति प्रयोग गरेर गणतन्त्रको संरचनालाई कमजोर बनाउने कपटपूर्ण गतिविधि बढिरहेको दाबी गरे। उनले यस्ता षड्यन्त्रविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट र सतर्क हुनुपर्नेमा जोड दिए। 

उनले भने,‘लोकप्रियताको सुन्दर घुम्टोले, जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्क्याइ–जिस्क्याइ सेभोटेज गर्न बढ्दै गएको कपट र षड्यन्त्रप्रति हामी गम्भीर र सचेत छौं।’

दुलालले आफ्नो पार्टीको संसदीय उपस्थिति सानो भए पनि विचारका हिसाबले आफूहरू बलियो रहेको दाबी गरे। चुनावको परिणाम सधैँ एउटै नरहने उल्लेख गर्दै उनले भने, ‘चुनाव जितेर आउने संख्या सानो भए पनि हामी विचारको बीउ हौं। विचार सही भए, विचारको समयसापेक्ष विकास भई सिंगो समाजलाई प्रभाव पार्न सक्छ।’ 

उनले पछिल्लो निर्वाचनको परिणामलाई स्थायी हारका रूपमा नलिन आग्रह गर्दै आफ्नो पार्टी पुनः सशक्त प्रतिस्पर्धी शक्तिका रूपमा उदाउने विश्वास व्यक्त गरे।

‘यो पटक हामी आवधिक चुनावमा तपाईहरूसँग हारेका हौं। सधैंका लागि हारेका होइनौं। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौं,’ उनले बताए।

उनले अहिलेको व्यवस्थाप्रति पूर्वग्राही दृष्टिकोण लागू गर्ने दुस्साहस गरे देशमा फेरी द्वन्द्व सृजना हुने चेतावनी दिए । 

असार १४, २०८३ आइतबार ११:५३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।