प्रधानमन्त्रीले चितवनतिर गएर स्पष्टिकरण दिने होइन, सदनबाट दिने हो : आरेन राई

प्रधानमन्त्रीले चितवनतिर गएर स्पष्टिकरण दिने होइन, सदनबाट दिने हो : आरेन राई

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको एक विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको 'नेपालले पनि भारतको भूमि मिचेको रहेछ' भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै विरोध जनाएका हुन्।

बैठकमा बोल्दै सांसद राईले पार्टीभन्दा देश ठूलो हुने उल्लेख गर्दै प्रधानमन्त्रीले बाहिर चितवनतिर गएर स्पष्टीकरण दिनुको सट्टा संसद्को सम्मानित रोष्ट्रममै आएर आफ्नो गल्ती सच्याउनुपर्ने बताए।

उनले भने, ‘पार्टीभन्दा ठूलो देश हो। चितवनतिर गएर स्पष्टिकरण दिने होइन, सम्मानित रोष्ट्रमबाट आएर सच्याउनुपर्छ। राष्ट्रघाती अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस्।’

प्रधानमन्त्रीले गत जेठ १७ गते 'नेपालले पनि भारतको भूमि मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएको भन्दै सांसद राईले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे।

यसैगरी, सांसद राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित भएका नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई व्यक्तिगत र आफ्नो पार्टीको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे।

आफ्नो सम्बोधनका क्रममा सांसद राईले खेलकुद क्षेत्रको समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकुवा गराउनका लागि आवश्यक कुटनीतिक पहल गर्न र फिफाका सर्तहरू पालना गर्न सरकारसँग आग्रह गरे।

असार १४, २०८३ आइतबार ११:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।