ओली-प्रचण्ड र माधवको फेरिएको सम्बन्ध, मदन भण्डारीको नाममा आज एउटै मञ्चमा

ओली-प्रचण्ड र माधवको फेरिएको सम्बन्ध, मदन भण्डारीको नाममा आज एउटै मञ्चमा

काठमाडौँ : राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने भाष्यलाई चरितार्थ गर्दै देशका शीर्ष कम्युनिस्ट नेताहरू आज आइतबार एउटै मञ्चमा देखा पर्दैछन्।

सत्ता गठबन्धन तोडिएपछि एक-अर्काविरुद्ध तिक्ततापूर्ण सम्बन्ध र दुस्मन झैँ व्यवहारमा उत्रिए र पार्टी विभाजन गराएको भन्दै अस्तित्व नै अस्वीकार गरेका नेताहरू मदन भण्डारीको नाममा आज एउटै सार्वजनिक कार्यक्रममा मञ्च र भाषण साझा गर्न लागेका हुन्।

फागुन २१ को निर्वाचनमा कमजोर जनमतसँगै पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब बढेको बेलामा उनीहरू एकै मञ्चमा देखिन लागेका हुन्। भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजना गर्ने विशेष राष्ट्रिय गोष्ठीमा उनीहरू एकै मञ्चमा देखिँदै छन्।

दलीय स्वार्थका लागि एमालेसँग एकतादेखि माधवसहितको समूहसँग मिलेर नेकपा बनाएका प्रचण्डले केही दिन अगाडि अब आफ्नो अन्तिम क्रमभङ्ग हेर्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरेका थिए। त्यसैले आजको कार्यक्रमलाई राजनीतिक वृत्तमा चासोका रूपमा हेरिएको छ।

एमालेकै मञ्चमा माधव नेपालको 'इन्ट्री'

एमालेका अध्यक्ष केपी शर्मा ओली मुख्य वक्ता रहने कार्यक्रममा एमालेबाटै विभाजित भई एकीकृत समाजवादी हुँदै हालै नेपाली कम्युनिस्ट पार्टीमा पुगेका माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि सहभागी हुँदैछन्।

एमाले संस्थापनसँग लामो समयदेखि पानी-बाराबारको स्थितिमा रहेका नेपाल र खनाल एमालेकै पृष्ठभूमि जोडिएको मञ्चमा आउनुलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा रहनेछिन् भने मञ्चमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि रहनेछन्।

असार १४, २०८३ आइतबार ०८:०६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।