२४ घण्टामा झन्डै २ हजार चालक कारबाहीमा, तीव्र गति र नियमविपरीत 'राइड सेयरिङ' गर्नेहरू निसानामा

२४ घण्टामा झन्डै २ हजार चालक कारबाहीमा, तीव्र गति र नियमविपरीत 'राइड सेयरिङ' गर्नेहरू निसानामा

काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने झन्डै दुई हजार सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार १ हजार ९२२ जना चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको हो।कारबाहीबाट राज्यकोषमा ५ लाख ११ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको प्रहरीले जनाएको छ।

कारबाहीमा परेकामध्ये सबैभन्दा बढी तीव्र गतिमा सवारीसाधन हुइँक्याउने र ट्राफिक संकेत बत्ती  उल्लङ्घन गर्नेहरू रहेका छन् । ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा चलाउने १३९ जना, ट्राफिक लाइट उल्लङ्घन गर्ने १२९ जना, मादक पदार्थ सेवन (मापसे) गर्ने ९२ जना र नियमविपरीत राइड सेयरिङ गर्ने ७८ जना कार्बाहीमा परे।

प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न विभिन्न विधामा निगरानी बढाउँदै कार्बाही प्रक्रिया अगाडि बढाएको छ। जसअन्तर्गत एकतर्फी सडकमा सवारी चलाउने चलाउने ७० जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, लेन अनुशासन पालना नगर्ने ४१ जना, कालो सिसा राखेर सवारी चलाउने १० जना र अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २ सय ९६ जना कार्बाहीमा परेका छन्।

असार १४, २०८३ आइतबार ०७:३५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।