जेन-जी आन्दोलनको प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले दर्ता गराए निवेदन

जेन-जी आन्दोलनको प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले दर्ता गराए निवेदन

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएका घटना (जेन-जी आन्दोलन) सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदन र सम्बन्धित कागजात उपलब्ध गराउन माग गरेका छन्।

उनले पार्टीका नेता महेश बर्तौलामार्फत शुक्रबार ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालयमा निवेदन दर्ता गराएका छन्।

ओलीले आयोगको बैठक नम्बर १७७ को प्रमाणित प्रतिलिपि, सदस्य लिली थापाको नेतृत्वमा गठित समितिको प्रतिवेदन, प्रतिवेदनमा गरिएका थपघटसम्बन्धी विवरण, त्यसको कारण तथा घटनासँग सम्बन्धित सबै बयान र कागजातको प्रतिलिपि उपलब्ध गराउन माग गरे।

आयोगले निर्णय सार्वजनिक गरेको ३० दिन बितिसक्दा पनि आफूलाई आधिकारिक जानकारी नदिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। आयोगको निर्णयको सिफारिस खण्ड र तथ्यगत आधारबीच मेल नखाएको दाबी गर्दै उनले निवेदनमा सार्वजनिक निर्णयप्रति शंका व्यक्त गरेका छन्। 

ओलीले निवेदनमा भनेका छन्, "तत्कालीन प्रधानमन्त्रीको हैसियतमा मैले गरेको काम कारबाही कानूनविपरीत नभएको निष्कर्ष छ भने अर्कोतर्फ जो घटनामा संलग्न छैन, जसले कानूनको उल्लंघन गरेको छैन र जसलाई देशको संविधान र कानूनले कुनै कारबाही गर्न मिल्दैन, उसलाई पश्चातदर्शी कानून बनाएर कारबाही गर्न सिफारिस गरेको भनी उल्लेख गरेको निर्णय मानव अधिकार आयोगबाट भएको हो भन्ने कुरामा मैले विश्वास गर्न सकेको छैन।"

उनले भदौ २३ गते स्कुले बालबालिकालाई मानव ढाल बनाएर संसद् भवनमा आक्रमण गर्ने र अराजक गतिविधि भएको तथा भदौ २४ गते देशभर सरकारी भवन, राजनीतिक दलका कार्यालय र नेताहरूका निजी घरमा आगजनी तथा तोडफोड भएको दाबी गरे। यस्ता गम्भीर घटना र संवैधानिक अङ्गहरूलाई समाप्त पार्न उत्तेजना फैलाउने व्यक्तिका विषयमा आयोगको निर्णय मौन रहेको उनको भनाइ छ।

असार १३, २०८३ शनिबार १८:३४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।