सीमाबाट ब्राउन सुगरसहित दुई जना समातिए, वनमा बेवारिसे अवस्थामा भेटियो १२० किलो गाँजा

सीमाबाट ब्राउन सुगरसहित दुई जना समातिए, वनमा बेवारिसे अवस्थामा भेटियो १२० किलो गाँजा

विराटनगर : लागुऔषध विरुद्ध आक्रामक बनेको कोशी प्रदेश प्रहरीले शनिबार चार ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। साथै सामुदायिक वन बेवारिसे अवस्थामा रहेको १२० किलो गाँजा बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा इलामको चुलाचुली गाउँपालिका-३ का २६ वर्षीय विवेक राई र सुनसरीको इटहरी उपमहानगरपालिका-१७ का २५ वर्षीय निशान कार्की रहेका छन्।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका राईको साथबाट दुई ग्राम ८२० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। 

यस्तै, इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले भारतबाटै नेपालतर्फ पैदल आउँदै गरेका कार्कीलाई एक ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको थियो।

त्यस्तै, लागुऔषध बरामद गर्ने क्रममा प्रहरीले ठूलो परिमाणमा गाँजासमेत फेला पारेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका-२० स्थित च्यानडाँडा सिरान सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा छाडिएको १२० किलो गाँजा बरामद गरेको छ। 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको थियो। गाँजा कसले र कहाँ लैजान लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असार १३, २०८३ शनिबार १६:४५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।