एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी) ले पक्राउ गरेको छ।राम चन्द्र बहाल श्रेष्ठको शेर्पा विरुद्ध सिआईबीमा उजुरी दिएपछि शुक्रबार सिआइबीले बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ।
शेर्पामाथि ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुर गरेको भन्दै पक्राउ गरेको हो। उनी विरुद्ध टुङ्गरम ईन्टरनेशनल एकेडेमी प्रा.लि.को कार्यकारी प्रमुख भएको समयमा एकल हस्ताक्षर गरी एकेडेमीको खातामा रहेको रकम तथा सम्पत्ति आफू र आफन्तलाई लाभ हुने गरी विद्यालयको सम्पत्ति नोक्सान गरेको आरोप छ। त्यसैगरी,उनी पदमा रहँदा विद्यालयको आठ करोड ७८ लाख ३० हजार रकम हिनामिना गरेको आरोप छ। साथै, भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना २ पैसा ९ दाम विद्यालयको जमिन र विद्यालयको सवारी साधन खरिद गर्ने भनेर आफ्नो नाममा सवारी साधन खरिद गरेको सीआइबीले जनाएको छ।
उनले २०७५ वैशाख २२ देखि २०७९ असार ६ सम्म एन्फाको अध्यक्ष भएर काम गरेका थिए।
असार १३, २०८३ शनिबार ०६:३४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।