रास्वपाको पदाधिकारीमा कसले कति मत ल्याएर जिते ?

रास्वपाको पदाधिकारीमा कसले कति मत ल्याएर जिते ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनले नयाँ पदाधिकारीहरू चयन गरेको छ। चितवनमा भएको महाधिवेशनले पाँच जना पदाधिकारी निर्वाचित गरेको हो भने दुई जना पदाधिकारी निर्विरोध चयन भएका छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। अन्य पदका लागि भने शुक्रबार मतदान भएको थियो।

निर्वाचन परिणामअनुसार उपसभापति (महिला)मा सोबिता गौतम ७८९ मत प्राप्त गरी विजयी भएकी छन्। उनले प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई पराजित गरिन्। महामन्त्रीमा ६७३ मतका साथ विपिन आचार्य निर्वाचित भएका छन्। आचार्यले प्रतिस्पर्धीहरू मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरेका हुन्।

त्यसैगरी, दुई जना सहमहामन्त्री (खुला) का लागि भएको निर्वाचनमा असिम शाह र हरि ढकाल विजयी भएका छन्। शाहले ४७१ र ढकालले ४१० मत प्राप्त गरे। उक्त पदमा ११ जना उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका थिए।

सहमहामन्त्री (महिला) तर्फ ७३७ मतका साथ निशा डाँगी निर्वाचित भएकी छन्। उनले रिमा विश्वकर्मा, जुली यादव, जमुना शर्मा र कामिनीकुमारी चौधरीलाई पराजित गरेकी हुन्।

निर्वाचन आयोगका अनुसार नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण आजै साँझ हुने कार्यक्रम तय भएको छ। तीन दिनका लागि तय भएको महाधिवेशन छैटौं दिनसम्म लम्बिएपछि धेरै प्रतिनिधिहरू पदाधिकारीलाई मतदान नगरी घर फर्किएका छन्।

असार १२, २०८३ शुक्रबार १९:५५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।