रास्वपाको सहमहामन्त्रीमा ढकाल, शाह र डाँगी निर्वाचित

रास्वपाको सहमहामन्त्रीमा ढकाल, शाह र डाँगी निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँगी निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनबाट उनीहरू सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

सहमहामन्त्रीका लागि भएको निर्वाचनबाट खुलातर्फ ढकाल र शाह विजयी भए। प्रतिनिधि सभा सदस्य रहेका ढकाल र प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार रहेका शाहले अन्य ९ प्रतिस्पर्धीलाई पराजित गरेका हुन्। 

खुलातर्फका दुई पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने र मिलन लिम्बुलगायत १० जना चुनावी मैदानमा थिए।

त्यस्तै, महिलातर्फको एक सहमहामन्त्रीमा डाँगी ७३७ मत ल्याएर निर्वाचित भइन्। झापाबाट प्रतिनिधि सभा सदस्य रहेकी डाँगीले जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मालाई पछि पारेर जित हासिल गरिन्।

रास्वपाको विधान अनुसार कुल ५ जना सहमहामन्त्री रहने व्यवस्था छ, जसमध्ये ३ जना (एक महिलासहित) निर्वाचनबाट चयन हुने र बाँकी २ जना सभापतिले मनोनीत गर्ने प्रावधान छ। त्यस्तै महामन्त्रीमा विपिन आचार्य र महिला उपसभापतिमा सोविता गौतमलाई समेत निर्वाचित भएका छन्। 

असार १२, २०८३ शुक्रबार १९:२७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।