हेटौँडाबाट साढे ४ किलो अफिमसहित दुई जना पक्राउ
काठमाडौं : नेपालका पहाडी जिल्लाहरूमा अवैध रूपमा उत्पादन गरिएको लागुऔषध अफिम भारततर्फ निकासी गर्न लागेको अवस्थामा प्रहरीले मकवानपुरबाट दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले प्राप्त सूचनाका आधारमा निगरानी बढाउने क्रममा आज दिउँसो २ बजे मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ४ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नं. ४ का ५४ वर्षीय राज कुमार लामा र हेटौँडा उपमहानगरपालिका वडा नं. १५ का ४० वर्षीय राज कुमार तितुङ रहेका छन्।
मकवानपुर प्रहरीका अनुसार उनीहरूको साथबाट ४ किलो ४२० ग्राम लागुऔषध अफिम (चोप) बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिएका छन्।
असार १२, २०८३ शुक्रबार १८:२६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।