केन्द्रीय सदस्य छान्न लाइन बसेका बहुसंख्यक रास्वपा प्रतिनिधि पदाधिकारी चुन्ने बेला गायब!
काठमाडौं : चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदानको समय सकिएको छ। छ दिनदेखि जारी महाधिवेशनअन्तर्गत पदाधिकारी चयन गर्न भएको मतदानमा महाधिवेशन प्रतिनिधिको सहभागीता घटेको छ।
विद्युतीय मतदानको प्राविधिक व्यवस्थापन गरिरहेको राम-लक्ष्मण इनोभेसनका अनुसार पदाधिकारी निर्वाचनमा एक हजार दुई/तीन सयको हाराहारीमा मात्र मत खसेको छ। रास्वपाका नेताहरूले महाधिवेशन प्रतिनिधिको सङ्ख्या चार हजार ३११ रहेको भनेको थियो। तर, पदाधिकारीको लागि मतदान गर्नेको सङ्ख्या भने झन्डै ३० प्रतिशत मात्र देखियो।
यसअघि केन्द्रीय सदस्य चयनका लागि भएको पहिलो चरणको निर्वाचनमा भने दुई हजार ९५९ प्रतिनिधिले मतदान गरेका थिए। महाधिवेशनको अवधि लम्बिएका कारण धेरै प्रतिनिधिहरू घर फर्किएको अनुमान गरिए पनि दोस्रो चरणमा कम मत खस्नुको यकिन कारण छैन।
मतदानको अन्तिम समयमा केही विवादसमेत देखिएको छ। केही प्रतिनिधि ढिलो आइपुगेका कारण मतदान स्थल छिर्न नपाएपछि त्यहाँ केहीबेर तनाव उत्पन्न भएको थियो। उनीहरूले मतदान गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।
निर्वाचन आयोगले मतदानका लागि सुरुमा अपराह्न साढे ४ बजेसम्मको समय तोकेको थियो। तर, मतदाताको न्यून उपस्थितिका कारण केही समय थप गरिएको थियो।
आइतबारदेखि मंगलबारसम्मका लागि तय भएको महाधिवेशन तीन दिन थप भएर शुक्रबारसम्म लम्बियो। मतदान कार्य सम्पन्न भइसकेकाले अबको केहीबेरमा नतिजा सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगको तयारी छ। मत परिणाम घोषणा भएपछि आजै पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ हुने बताइएको छ।
असार १२, २०८३ शुक्रबार १८:१७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।