निर्विरोध भएका सभापति र वरिष्ठ नेताले पदाधिकारीलाई भोटै दिएनन्
काठमाडौं : पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएका रवि लामिछाने र सभापतिबाट मनोनीत हुने कोटामा परेका वरिष्ठ नेता वालेन्द्र शाह दुवैले पार्टीको पदाधिकारीहरूका उम्मेदवारहरूलाई भोट दिएनन्। शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचित हुने पदाधिकारीको मतदान भयो। चितवनमै रहेर पनि सभापति लामिछाने भोट हाल्न गएनन्।
रविले केन्द्रीय सदस्यको निर्वाचनमा भने भोट दिएका थिए। वरिष्ठ नेता शाह भने मतदान प्रक्रिया सुरु हुनु अगाडि नै काठमाडौं आएकाले उनले केन्द्रीय सदस्य र पदाधिकारी कसैलाई पनि भोट दिएनन्। भोट नहाली शाह काठमाडौं फर्किएकोबारे सञ्चारकर्मीको जिज्ञासामा पार्टी प्रवक्ता मनिष झाले 'देश बनाउने हतारले' शाह काठमाडौं फर्किएको प्रतिक्रिया दिएका थिए।
तीन दिनमा सक्नेगरि असार ७ गते सुरु भएको महाधिवेशन शुक्रवारसम्म जारी नै छ। आज पदाधिकारीको मतगणना सकिएर महाधिवेशन समापन गर्ने कार्यतालिका रहेको छ। पार्टी सभापति लामिछानेले पदाधिकारीहरूमा सर्वसम्मत गर्ने प्रयास गरेका थिए। उपसभापतिमा स्वर्णिम वाग्लेलाई विराजभक्त श्रेष्ठले चुनौती दिने तयारी गरे पनि रविको प्रयासमा उनी उम्मेदवार नबन्न राजी भए।
तर महिला उपसभापति, महामन्त्री र सह-महामन्त्रीमा उनले सहमति गराउन सकेनन्। महिला उपसभापतिमा सोविता गौतम र डा तोसिमा कार्की उम्मेदवार बने। महामन्त्रीमा आधा दर्जन बढीले उम्मेदवारी दिए पनि अन्तमा मनिष झा बाहेक अन्य संस्थापक समूहकाहरुले उम्मेदवारी फिर्ता र फिर्ता गर्न नभ्याएकाले उम्मेदवारि निष्क्रिय गराएर विपिन आचार्यलाई समर्थन गरे। सह-महामन्त्रीमा भने सबैले उम्मेदवारी कायम राखे।
असार १२, २०८३ शुक्रबार १८:१४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।