कार्यसम्पादनमा मनाङको ‘ह्याट्रिक’, काठमाडौं र धनुषा पुछारमा

कार्यसम्पादनमा मनाङको ‘ह्याट्रिक’, काठमाडौं र धनुषा पुछारमा

काठमाडौं : गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मनाङ लगातार तेस्रो पटक मुलुकभरकै सबैभन्दा उत्कृष्ट कार्यालय बनेको छ।

मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा मनाङले अरू सबै जिल्ला प्रशासन कार्यालयहरूलाई उछिनेको हो।

मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुल १८.२५ पूर्णाङ्कमा मनाङले १८ अङ्क प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको म्याग्दीले  १७.८७५ अंक ल्याएको छ। भक्तपुरले १७.६२५ अंक ल्याएर तेस्रो स्थानमा छ। 

मनाङले यसअघि सार्वजनिक पहिलो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङले २९.२५ पूर्णाङ्कमध्ये २८.७५ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो। त्यसपछि दोस्रो त्रैमासिक मूल्याङ्कनमा २०.२५ पूर्णाङ्कमध्ये १९.५ अङ्क प्राप्त गर्दै पहिलो बनेको थियो। 

यस्तै कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय काठमाडौं २.५ अङ्कसहित ७६औँ स्थानमा र धनुषा १.६८७५ अङ्कसहित ७७औँ स्थानमा छन्। 

गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूको कामलाई थप उत्तरदायी, पारदर्शी र नतिजामुखी बनाउन हरेक वर्ष गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झौता गर्दै आएको छ। सोही सम्झौताका आधारमा अनलाइन प्रणालीमार्फत त्रैमासिक तथा वार्षिक रूपमा कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गरिने व्यवस्था रहेको छ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैली तथा अन्य निर्धारित सूचक र मापदण्डका आधारमा प्रत्येक त्रैमासिक नियमित रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको छ।

असार १२, २०८३ शुक्रबार १६:४६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।