रास्वपा महामन्त्रीमा उम्मेदवारी दिएपछि मनीष झाले भने : ‘सहमति भनेको सधैँ त्याग मात्र होइन’

रास्वपा महामन्त्रीमा उम्मेदवारी दिएपछि मनीष झाले भने : ‘सहमति भनेको सधैँ त्याग मात्र होइन’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं महामन्त्री पदका उम्मेदवार मनीष झाले आफू महामन्त्रीमा निर्वाचित भएमा आगामी पाँच वर्षसम्म कुनै पनि मन्त्रालयको दाबी नगर्ने घोषणा गरेका छन्।

चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा पदाधिकारी चयनको लागि निर्वाचन प्रक्रिया चलिरहँदा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले पार्टीको आन्तरिक व्यवस्थापन र सांगठनिक सुदृढीकरणको विषय उठाउँदै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

पदको लोभमा भन्दा पनि पार्टी सुधारका लागि आफू उम्मेदवार बनेको उनको भनाइ छ। झाले भने, "मलाई मन्त्रालयगत लोभ छैन। मलाई पार्टी सुधार्नु छ, पार्टीको व्यवस्थापकीय संरचना सुधार्नु छ। त्यसैले गर्दा मलाई यो मौका दिनुस्, म ५ वर्षसम्म कुनै पनि मन्त्रालय दाबी गर्दिन।"

पार्टीमा महाधिवेशन अघिको कार्यकालमा देखिएको कमजोरीले लज्जित बनाइरहँदा आगामी कार्यकालको लागि क्षमता भएको व्यक्ति महामन्त्री चुनिनु पर्ने उनको भनाइ छ। झाले पार्टीभित्र देखिएको समूहगत अभ्यास र गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गरे। सभापति रवि लामिछानेलाई त्यस्ता गतिविधि गर्नेहरूमाथि कारबाही गर्न माग गरे। 

"कसैले समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो," झाले भने, "के ठेगान रवि दाइले त यहाँ आएर होइन, समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो। तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापति ज्युलाई जानकारी छैन। तर उहाँको नाम बदनाम गरिरहेको छ कि कसैले भनेर पनि हामीले सोच्न सक्छौं।"

उनले पदाधिकारीको लागि सहमतिको प्रयास भएको पनि बताए। तर, सहमतिको नाममा सधैँ त्याग गर्न नसकिने अवस्था आएपछि चुनावी प्रतिस्पर्धा हुन लागेको उनको भनाइ थियो। 

"हुन त मलाई 'मिलेर जानुपर्छ' भनेर त्यो कुराहरू भएको थियो," झाले भने, "तर सहमति भनेको सधैँ त्याग होइन। सहमति भनेको कहिलेकाहीँ प्राप्ति पनि हो। तर मैले गर्ने राजनीतिक सहमति किन सधैँ त्याग मात्र भइदिन्छ भनेर मैले त्यो प्रश्न सोधेँ।"

रास्वपाको महामन्त्री पदमा निकै प्रतिस्पर्धात्मक देखिएको छ। सुरुमा १० जनाको उम्मेदवारी परे पनि अहिले मनीष झा, गणेश कार्की, सागर ढकाल र विपिन आचार्यबीच प्रतिस्पर्धी हुँदै छ। कवीन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, जगदीश खरेल र गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गरे। 

यस्तै, राजुनाथ पाण्डे र रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ताको घोषणा गरे। तर, रञ्जु दर्शनाले उम्मेदवारी फिर्ताको समय सीमाभन्दा ढिलो गरी घोषणा गरेकाले प्राविधिक रूपमा उनको उम्मेदवारी कायम रहने भएको छ। झाले सभापतिले समूहगत अभ्यास नगर्न निर्देशन दिएको स्मरण गराउँदै कसैले उनकै आडमा गुटबन्दी गरिरहेको भए त्यो पार्टीको हितमा नहुने आशय व्यक्त गरेका छन्।

असार १२, २०८३ शुक्रबार १५:२८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।