फेसबुकको ‘फ्यान फलोअर्स’ले मात्रै पार्टी चल्दैन : एमाले सचेतक ऐन महर
काठमाडौं : एमालेका प्रमुख सचेतक ऐन महरले सामाजिक सञ्जालको लोकप्रियताले मात्रै राजनीतिक दल चल्न नसक्ने टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको व्यवस्थापन र कार्यशैलीमाथि आलोचना गर्दै प्रमुख सचेतक महरले फेसबुकको ‘फ्यान फलोअर्स’ को भरमा पार्टी सञ्चालन हुन नसक्ने जिकिर गरे।
उनले रास्वपाको हचुवा निर्णय र ७ दिनसम्म लम्बिएको महाधिवेशनले नेतृत्वको असक्षमता र कमजोर व्यवस्थापनको पराकाष्ठा भएको आरोप लगाए। महरले १४२ सिट जितेको पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहितका चर्चित अनुहारहरूको उपस्थिति र १०–१२ हजारको भीडलाई ‘ठूलो कुरा’ मान्न नसकिने समेत बताए।
महाधिवेशनमा देखिएको ढिलासुस्तीका कारण प्रत्यक्ष रूपमा जनताका कामहरू प्रभावित भएको भन्दै उनले आपत्ति जनाए।
नेतृत्वको क्षमतामाथि प्रश्न उठाउँदै महरले भने, "अलोकतान्त्रिक निर्वाचन पद्धति र समयमा प्रक्रिया सम्पन्न गर्न नसक्ने नेतृत्वले देशको नेतृत्व गर्न सक्दैन।"
महरले हचुवाको भरमा निर्णय लिने प्रवृत्तिका कारण रास्वपा नेतृत्व अपरिपक्व रहेको सन्देश बाहिर गएको र यसले पार्टीको विश्वसनीयतामाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको दाबी गरे।
रास्वपाले पुरानै शैलीको राजनीतिक अभ्यासलाई 'नयाँ' भन्दै जनतामा भ्रम छर्न खोजेको महरले आरोप लगाए। छोटो समयमै ठूलो चर्चा बटुलेको रास्वपाले आफ्नो पहिलो महाधिवेशनजस्तो महत्त्वपूर्ण अवसरमा देखाएको यस्तो कमजोर दृश्यले उसको भविष्य र गम्भीरतामाथि नै प्रश्न उठाएको समेत महरले दाबी गरे।
असार १२, २०८३ शुक्रबार १४:१९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।