महिला उपसभापति र सह-महामन्त्रीमा रवि र बालेनको अलग-अलग उम्मेदवार, महामन्त्रीमा भने बालेन समूह मौन
काठमाडौं : गुट नबनाउने दाबी गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन गुटकै आधारमा भयो। अन्य दलको जस्तो सार्वजनिक रूपमै नदेखिए पनि आन्तरिक रूपमा संस्थापन र बालेन समूहमा उम्मेदवार विभाजित भए।
त्यसको प्रभाव केन्द्रीय सदस्यको निर्वाचन देखिएकै थियो। पदाधिकारीको निर्वाचनमा त्यो झन् प्रष्ट देखियो। पदाधिकारीमा उपसभापतिमा प्रतिष्पर्धा गर्ने तयारी गरेका विराजभक्त श्रेष्ठ ब्याक हुँदा स्वर्णिम वाग्ले निर्विरोध हुन सके। यसका लागि पार्टी सभापति रवि लामिछानेले रातभर प्रयास गरेका थिए।
महिला उपसभापतिको आकांक्षी प्रतिभा रावलले केन्द्रीय सदस्यमै उम्मेदवारी दिइनन्। त्यसमा विवेकशील साझाकी समीक्षा वास्कोटा इच्छुक थिइन्।
तर, केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएसँगै सोविता गौतमले उम्मेदवारी घोषणा गरेर प्रचार तीव्र बनाएसँगै समीक्षा ब्याक भइन् र सोवितालाई नै समर्थन गरिन्। सोविताको प्रस्तावक रविको कोर टिम सदस्य प्रतिभा बसिन्।
लगत्तै प्रधानमन्त्रीको दैनिक गतिविधिका रेडिमेड समाचार र सूचना सार्वजनिक गर्न सचिवालय सदस्यहरू एडमिन रहेको ह्वाट्सएप समूहबाट महिला उपाध्यक्षको रूपमा डा. तोसिमा कार्कीको प्रचार सामग्री आयो। डा. तोसिमाले उम्मेदवारी पनि दिइन्।
महामन्त्रीमध्ये एक पदमा बालेन समूहबाट मनोनित गर्ने भएकाले निर्वाचित पदमा पनि रवि विपिन आचार्यलाई निर्विरोध गराउन चाहन्थे। तर सम्भव भएन। टन्नै आकांक्षी देखिए र उम्मेदवारी पनि दिए।
तर अन्तमा संस्थापनतिरका उम्मेदवार एक जुट भएर विपिनलाई समर्थन गरे। मनिष झा भने टसकोमस भएनन्। अन्यमा सागर ढकाल र गणेश कार्की रहे। महामन्त्रीमा बालेन समूह खुलेको छैन।
डा. तोसिमालाई जस्तै बालेन समूहबाट सह-महामन्त्रीको उम्मेदवारलाई सहयोग गर्न भन्दै ह्वाट्सएपमा असिम साहको उम्मेदवारी र प्रचार सामग्री राखियो। महिला सह-महामन्त्रीमा भने बालेन समूह मौन छ।
असार १२, २०८३ शुक्रबार १३:२९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।