रास्वपा महामन्त्रीमा विपिन आचार्यलाई पाँच आकांक्षीको समर्थन

रास्वपा महामन्त्रीमा विपिन आचार्यलाई पाँच आकांक्षीको समर्थन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवार विपिन कुमार आचार्यलाई पाँच जना महामन्त्रीका आंकाक्षीहरूले समर्थन गरेका छन्।

महामन्त्रीका अन्य दाबेदारहरू कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, शिशिर खनाल र जगदीश खरेल (ललितपुर)ले आचार्यलाई समर्थन गर्ने जानकारी दिँदै पत्रकार सम्मेलन गरेका छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको महामन्त्रीको अन्तिम नामावलीमा गणेश पराजुली र प्रमोद न्यौपानेको नाम समेत समावेश थियो भने त्यसअघिका खनाल, खरेल र बुर्लाकोटी पनि महामन्त्रीको आकांक्षी थिए।

तर, पार्टीभित्र आन्तरिक एकता कायम गर्न र दलको वृहत्तर हितलाई ध्यानमा राख्दै आफूहरूले दाबेदारी छाडेर आचार्यलाई समर्थन गरेको उनीहरूले पत्रकार सम्मेलनमा भनेका छन्।

‘अहिले हामी सबै जना; कविन्द्र बुर्लाकोटी, म गणेश पराजुली, प्रमोद न्यौपाने, जगदीश खरेल र शिशिर खनाल हामी सबै जनाले विपिनलाई समर्थन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘सबै महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गर्न चाहन्छौं यहाँहरूले अप्ठ्यारो गरी निर्णय गर्नुपर्ने अवस्था नरहेको र हामी सबैको समर्थन विपिनलाई रहेको र उहाँलाई भोट हाल्न अनुरोध गर्न चाहन्छौं।’

यसअघि शिशिर खनाल, जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले पनि पार्टीमा सहमतिको वातावरण निर्माण गर्न विभिन्न चरणमा आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।

अब महामन्त्रीमा विपीनसहित राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, मनिष झा र सागर ढकाल मैदानमा छन्। उनीहरूलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको छ।

असार १२, २०८३ शुक्रबार १२:१५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।