रास्वपा महाधिवेशन : स्वर्णिम निर्विरोध उपसभापति; महामन्त्रीको दाबीबाट पछि हटे कविन्द्र, शिशिर र जगदीश
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी चयन प्रक्रिया सुरू भएको छ।
महाधिवेशनमा पार्टी सभापतिमा रवि लामिछाने र खुलातर्फको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। अन्य ६ वटा पदाधिकारी पदका लागि भने आकांक्षीहरूबीच मतदान हुने भएको छ।
खुलातर्फको एक उपसभापति पदका लागि दाबी गरेका विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन्।
श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका थिए। यसअघि पहिलो चरणको निर्वाचन प्रक्रियाबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावली अनुसार महिला उपसभापतिका लागि सोविता गौतम र डा. तोसिमा कार्की चुनावी मैदानमा उत्रिएका छन् भने महामन्त्रीको एक पदका लागि सुरूमा १० जनाले उम्मेदवारी दर्ता गराएका थिए।
तर, ललितपुरका जगदीश खरेलले पार्टीमा सहमति र एकताको वातावरण बनाउन आफ्नो उम्मेदवारी फिर्ता लिए। अन्तिम नामवलीमा भने कविन्द्र बुर्लाकोटीको पनि नाम छैन। श
यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले पनि नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै महामन्त्रीको दाबेदारीबाट पछि हटेको घोषणा गरेका छन्। यद्यपि उनले प्रारम्भिक नामावलीको सूची नआउँदै नलड्ने घोषणा गरेका थिए।
अब महामन्त्री पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यबीच प्रतिस्पर्धा हुनेछ।
सह-महामन्त्री खुलाका दुई पदका लागि रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्त चुनावी प्रतिस्पर्धामा छन्।
यस्तै महिलातर्फ सह-महामन्त्रीको एक पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा भिड्दै छन्।
नयाँ सांगठनिक संरचना र भावी तयारी
रास्वपाको नयाँ विधानअनुसार १५८ सदस्यीय केन्द्रीय कार्यसमिति गठन हुनेछ।
पदाधिकारीको संख्या १९ पुर्याइएको छ, जसमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ खुला, १ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (२ खुला, १ महिला, २ मनोनीत), प्रवक्ता १ (मनोनीत), सहप्रवक्ता ३, कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ जना रहनेछन्।
प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)को पक्षबाट केन्द्रीय समितिमा रहेका २६ जनामध्ये १६ जनाले पदाधिकारीमा उम्मेदवारी दिएका छैनन्।
विधानले सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएकाले बाँकी आकांक्षीहरूलाई सोही प्रक्रियामार्फत पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनीत गर्ने पार्टीको आन्तरिक तयारी छ
असार १२, २०८३ शुक्रबार ११:०८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।