उचित व्यवस्थापन नभए पुरानै ठाउँमा फर्किने सुकुम्बासीको चेतावनी; होल्डिङ सेन्टर खाली गर्ने म्याद असार १९ सम्म थप
काठमाडौं : काठमाडौंका विभिन्न नदी किनारका बस्तीबाट हटाइएका र हाल विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले सरकारले व्यवस्थित विकल्प नदिए पुनः पुरानै ठाउँमा फर्केर छाप्रो हाल्ने चेतावनी दिएका छन्।
सरकारले पुनःव्यवस्थापन खर्चबापतको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि सुकुम्बासीहरूले यस्तो चेतावनी दिएका हुन्।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गत वैशाख १२, १३, १८, १९ र २० गते जोखिमयुक्त नदी किनारका सुकुम्बासी बस्ती हटाएको थियो।
सो क्रममा विस्थापित भई दशरथ रङ्गशालामा प्रारम्भिक दर्ता गराएका र हाल विभिन्न स्थानमा बसोबास गरिरहेका परिवारलाई समितिले असार १५ गतेभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
समितिका अनुसार सम्बन्धित परिवारले आफ्नो मोबाइलमा प्राप्त हुने एसएमएस का आधारमा आवश्यक पारिवारिक विवरण र कागजातहरू सहित असार १५ गतेभित्र दशरथ रङ्गशालामा उपस्थित भई ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी लगत प्रणाली’ मा डिजिटल लगत दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।
यसैगरी, होल्डिङ सेन्टर बाहिर आफ्नै व्यवस्थापनमा बसोबास गरिरहेका विस्थापित परिवारलाई सरकारको निर्णयअनुसार पुनःव्यवस्थापन खर्चबापतको घरभाडा रकम वितरण गरिने समितिले जनाएको छ।
उक्त रकम प्राप्त गर्न सम्बन्धित परिवारले आफ्नो नाममा रहेको बैंक खाताको विवरणसहित तोकिएको ढाँचाको निवेदन असार १५ गतेभित्र दशरथ रङ्गशालामा पेस गर्नुपर्नेछ।
यसअघि समितिले असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गरिसक्न समयसीमा तोकेको थियो।
तर, घरभाडा रकम प्राप्त गर्ने र सेन्टर खाली गर्ने अवधि छोटो भएको भन्दै विस्थापित परिवारहरूले गुनासो गरेपछि समितिले उक्त समयसीमा असार १९ गतेसम्मका लागि थप गरेको छ।
असार १२, २०८३ शुक्रबार ०९:३१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।