महिला उपाध्यक्षमा रवि र बालेन समूहका अलग अलग उम्मेदवार, सोविता अगाडि बढ्दा बालेन समूहले तोसिमालाई अगाडि बढायो
काठमाडौं : निर्वाचन समितिले आधिकारिक रूपमा को को विजयी भए भन्ने परिणाम सार्वजनिक नगरे पनि केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएसँगै उम्मेदवारहरू दोस्रो चरणको पदाधिकारीको निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्न थालेका छन्। उपसभापति, महिला उपसभापति, महामन्त्री र सहमहामन्त्री गरेर ६ पदमा निर्वाचन हुनेछ भने अन्य पदाधिकारी सभापतिले मनोनीत गर्ने छन्।
उपसभापतिमा स्वर्णिम वाग्ले उम्मेदवार बन्ने चर्चा छ। विराजभक्त श्रेष्ठले पनि उपसभापतीमा उम्मेदवारी दिने बताएका छन्। महिला उपाध्यक्षमा सोविता गौतम र डा तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनसक्ने देखिन्छ। सोविताले निर्वाचनस्थलमै अब दोस्रो चरणमा महिला उपसभापतिमा उम्मेदवारी दिने विचार गरेको बताइन्। तोसिमाले यसबारे सार्वजनिक गरेकी छैनन्। तर प्रधानमन्त्री वालेन्द्र शाहको गतिविधि सार्वजनिक गर्ने ह्वाट्सएप समूहबाट तोसिमाको उप सभापतिको प्रचार सामग्रीसँगै उपसभापतिमा उम्मेदवारी दिने उल्लेख गरिएको छ।
प्रधानमन्त्रीको ह्वाट्सएपबाटै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सहमहामन्त्रीमा उम्मेदवारी दिने उल्लेख गरिएको छ। प्रधानमन्त्रीको टिमबाट महिला उपसभापति र सहमहामन्त्रीको मात्र प्रचार सामग्री आउनु अर्थपूर्ण देखिन्छ।
महाधिवेशनको प्रारम्भबाटै विवेकशील साझाकी अध्यक्ष रहेको समीक्षा बास्कोटाले महिला उपाध्यक्षमा चासो राख्दै आएकी थिइन्। उनले उम्मेदवारी दिनेबारे केही सार्वजनिक भएको छैन।
महामन्त्रीमा आधा दर्जन बढीको नाम सार्वजनिक भएको छ। शिशिर खनाल, मनिष झा, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, गणेश पराजुली, गणेश कार्की, रञ्जु दर्शना, सागर ढकाल र प्रमोद न्यौपाने महामन्त्रीको आकांक्षी देखिएका छन्।
महामन्त्री एक जना निर्वाचित हुनेछन् भने एक जना मनोनित हुनेछन्। बालेन समूहबाट महामन्त्रीका आकांक्षी देखिएका भुपदेव शाहले केन्द्रिय सदस्यमै उम्मेदवारी दिएनन्। सह-महामन्त्रीमा असिमसँगै पुकार बम, हरि ढकाल, सुलभ खरेल, यज्ञमणि न्यौपाने लगायतले दाबी गरेका छन्।
असार ११, २०८३ बिहीबार २३:५७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।