भ्रष्टाचार र बेथितिको प्रमाण भए उजुरी गर्न रेडक्रसको ३५ दिने सूचना
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले आफू मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिहरू सम्बन्धमा उजुरी पठाउन सम्बन्धित सबैमा आह्वान गरेको छ।
रेडक्रसले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिहरू सम्बन्धमा शून्य सहनशीलता प्रति प्रतिबद्ध रहँदै आएको जनाएको छ।
त्यसका बाबजुद पनि साङ्गठनिक एवं गतिविधिहरू सञ्चालन गर्दा विभिन्न तहमा आर्थिक अनियमितता, भ्रष्टाचार तथा बेथितिहरूका समाचार प्रकाशन एवं प्रसारण हुँदै आएकाले संस्थाको छवि र निष्ठामा दूरगामी नकारात्मक प्रभाव पर्दै आएको भन्दै सो आह्वान गरिएको हो।
रेडक्रसले त्यसको निराकरणको उद्देश्यले बुधबार सूचना प्रकाशित गरी ३५ दिनभित्र तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता, भ्रष्टाचार तथा बेथितिहरू सम्बन्धमा उजुरी पठाउनका लागि आह्वान गरेको जनाएको छ।
उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाले गोपनीयताको संरक्षण गर्नेछ। प्राप्त उजुरी तथा गुनासोहरूको अध्ययन भ्रष्टाचारविरुद्ध अध्ययन अनुसन्धान विज्ञ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा दिपेश घिमिरेको नेतृत्वमा अधिवक्ता यशस्वी थापा र चाटर्ड एकाउन्टेन्ट सतिश सुवेदीको टोलीले गर्ने सूचनामा उल्लेख छ।
उजुरी गर्नका लागि इमेल: [email protected], हुलाक: नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा प्रत्यक्ष दर्ता र केन्द्रीय कार्यालय पोष्ट बक्स २१७, निःशुल्क हटलाइन नं ११३०, तथा ह्वाट्स एप नं ९७४१६९५०९७ मा समेत उजुरी गर्न सकिने व्यवस्था गरिएको छ। प्राप्त हुने सबै सूचना तथा उजुरीलाई निष्पक्ष, स्वतन्त्र तथा गोपनीय ढङ्गले व्यवस्थापन गरिने रेडक्रसले जनाएको छ।
असार ११, २०८३ बिहीबार २१:४०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।