होल्डिङ सेन्टरका सुकुमबासीको चेतावनी : २५ हजार दिएर हटाएर पुरानै ठाउँमा छाप्रो

होल्डिङ सेन्टरका सुकुमबासीको चेतावनी : २५ हजार दिएर हटाएर पुरानै ठाउँमा छाप्रो

काठमाडौँ :  सरकारले आफ्नो थातथलोबाट जबरजस्ती उठाएर होल्डिङ सेन्टरमा राखेका भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरू दुई महिना बितिसक्दा पनि उचित व्यवस्थापन नहुँदा गम्भीर संकटमा परेका छन्। 

व्यवस्थापनको साटो सरकारले २५ हजार रुपैयाँ राहत रकम लिएर होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि कीर्तिपुरमा रहेको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टमा रहेका पीडितहरूले सरकारले आफूहरूलाई बिचल्लीमा पार्न खोजेको भन्दै जवर्जस्ति हटाए पुरानै ठाउँमा छाप्रो बनाएर बस्ने चेतावनी दिए।

पीडितहरूका अनुसार चुनावका बेलामा जग्गा धनी पुर्जा दिने प्रतिबद्धता जनाएर पछि बल प्रयोग गरेर हटाएको र ६० दिनभित्र स्थायी समाधान दिने आश्वासन दिएर उल्टो लखेट्न खोजेको आरोप लगाएका छन्।

सुरुमा १५ दिनका लागि भन्दै होल्डिङ सेन्टरमा ल्याइएको तर, दुई महिना बितिसक्दा पनि खानपान र अन्य आधारभूत सुविधा कठिन हुनुका साथै बालबालिकाको पढाइसमेत अन्योलमा परेको भन्दै उनीहरूले आफ्नो माग पुरा गर्न सरकारलाई चेतावनी दिएका छन्।

स्थायी व्यवस्थापनको पर्खाइमा रहेका पीडितहरूलाई असार ९ गते सरकारी निकायका प्रतिनिधिहरूले २५ हजार राहत दिएर होल्डिङ सेन्टर छोड्न र स्व-व्यवस्थापन गर्न दबाब दिएका छन्। असार १२ गतेभित्र केन्द्र खाली गर्न सूचना टाँसेपछि पीडितहरू थप आक्रोशित भएका छन्।

उनीहरूले सरकारको यस्तो कदमप्रति आपत्ति जनाउँदै भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले ५ बुँदे माग अघि सारेका छन्।

उनीहरूले उचित विकल्प र स्थायी व्यवस्थापन विना आफूहरू होल्डिङ सेन्टरबाट नहट्ने र जवर्जस्ती गरे पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन्।

पाँच बुँदे माग

१. भूमि समस्या समाधान समिति गठन भइसकेकाले स्थानीय सरकारमार्फत लगत संकलन र प्रमाणीकरण गरी उठिबास गराइएका परिवारको पहिचान गरियोस्।

२. जबरजस्ती उठिबास गराइएकाहरूलाई पहिलो प्राथमिकतामा राखी समस्या समाधान गरियोस्।

३. स्थायी व्यवस्थापन नहुन्जेल सरकारले प्रत्यक्ष सेवा सुविधा पर्याप्त रूपमा देओस् वा व्यवस्थापनका लागि जाने ठाउँ देखाइयोस्।

४. सरकारको नीति र कार्यक्रममा उल्लेख भए बमोजिम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी केन्द्रित उपयुक्त र उचित स्थायी व्यवस्थापन गरियोस्।

५. स्थायी विकल्प नदिई बाहिर निकालिएमा बस्ने ठाउँ नभएकाले पुनः पहिलेकै स्थानमा गएर छाप्रो हाल्न बाध्य हुने।

असार ११, २०८३ बिहीबार १९:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।