कक्षा १२ को उत्तरपुस्तिका र डेटा प्रमाणीकरण गर्न समिति गठन

कक्षा १२ को उत्तरपुस्तिका र डेटा प्रमाणीकरण गर्न समिति गठन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरे। मिहिनेत अनुसारको अङ्क नआएको र नतिजामा त्रुटि रहेको भन्दै उनीहरूले प्रभावकारी मूल्यांकन गर्न माग गरे।

नतिजा प्रकाशन प्रक्रिया पारदर्शी नभएको, उत्तरपुस्तिका मूल्यांकनमा समस्या देखिएको र विद्यार्थीको गुनासो सम्बोधन गर्ने प्रभावकारी संयन्त्र नभएको उनीहरूको आरोप थियो। तर, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको दाबी गरे।

नतिजा प्रकाशनमा कुनै हतार नगरी आवश्यक जनशक्ति थप गरेर तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर समयमै नतिजा सार्वजनिक गरिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट्याए।

उनले लेखेका छन्, "राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु । यस प्रक्रियाप्रति स्पष्ट र विश्वस्त छौं। नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो।"

यद्यपि उनले नतिजा प्रक्रियाबारे असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले गरिरहेको आन्दोलनप्रति सरकारको सम्मान रहेको पनि बताए। लोकतान्त्रिक समाजमा आफ्ना धारणा राख्ने अधिकारको सम्मान हुनुपर्ने उल्लेख गर्दै उनले आन्दोलनरत पक्षप्रति संयमित व्यवहार गर्न आग्रह गरे।

सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा विद्यार्थीहरूप्रति गरिएका नकारात्मक र असम्मानजनक टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै पोखरेलले यस्ता गतिविधि नगर्न सबैसँग अनुरोध गरे। यहीबिच नतिजासम्बन्धी उठेका जिज्ञासा र प्रश्नहरूको अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरू समेत सहभागी रहने गरी समिति गठन गरिएको जानकारी पनि उनले दिएका छन्।

उनका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्नेछ।

असार ११, २०८३ बिहीबार १७:१९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।